स्वास्थ्यसमाचार/बुटवलमा गर्भपतन गराउने क्रममा गर्भवती गीता पाण्डेको मृत्यु भएको घटनामा नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने भएको छ। १२ हप्ताको गर्भमा रहेको भ्रूण असामान्य रहेको भन्दै स्वास्थ्यकर्मीहरूले गर्भपतन गराउने क्रममा उनको मृत्यु भएपछि घटनाले व्यापक चासो पाएको हो।
मृतकका आफन्तले खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकको लापरबाहीका कारण मृत्यु भएको दाबी गर्दै संलग्नमाथि कारबाहीको माग गरेका छन्। उनीहरूले नेपाल मेडिकल काउन्सिलमा समेत निवेदन दिएपछि काउन्सिलले घटनालाई गम्भीर रूपमा लिँदै छानबिन प्रक्रिया अघि बढाउने जनाएको छ।
काउन्सिलका रजिस्टार डा. सतिश देउका अनुसार घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्ने तयारी भइरहेको छ। उनले पीडित पक्षबाट पनि औपचारिक निवेदन आएकाले आवश्यक छलफलपछि छानबिन अगाडि बढाइने बताए। काउन्सिल सदस्य डा. सम्राट पराजुलीले बुटवल बाहिरका विशेषज्ञ चिकित्सकको नेतृत्वमा छानबिन समिति गठन गर्नेबारे छलफल भइरहेको जानकारी दिए।
पाल्पाको बगनासकाली गाउँपालिका–२ घर भई हाल तिलोत्तमा–शंकरनगर बस्दै आएकी २९ वर्षीया गीता पाण्डे नियमित रूपमा बुटवलको खत्री नर्सिङ होममा गर्भ परीक्षण गराउँदै आएकी थिइन्। गत चैत २७ गते गरिएको परीक्षणमा भ्रूण असामान्य देखिएपछि गर्भपतन गर्न सल्लाह दिइएको थियो।
त्यसपछि खत्री नर्सिङ होमकै सिफारिसमा उनीहरू जोनल फार्मेसी पुगेका थिए। त्यहाँ औषधिबाट गर्भपतन गराउन नसकेपछि उनलाई इन्दुलेखा क्लिनिक लगिएको थियो। सोही क्रममा उनी अचेत भएकी थिइन् र लुम्बिनी सिटी अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि आक्रोशित आफन्तले सम्बन्धित स्वास्थ्य संस्थामा प्रदर्शन गर्दै कारबाहीको माग गरेका छन्। प्रहरीमा उजुरी परेपछि तीन जनालाई पक्राउ गरिएको छ भने २ चिकित्सकमाथि पनि अनुसन्धाको लागी नियन्तणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिकया दिनुहोस्