पाल्पामा ‘स्वर्णविन्दु प्राशन कार्यक्रम’ स्वास्थ्य मन्त्री सारु द्वारा शुभारम्भ

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले बाल स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यसहित १२ वटै जिल्लामा सञ्चालन गर्न लागेको ‘स्वर्णविन्दु प्राशन कार्यक्रम’को औपचारिक शुभारम्भ गरिएको छ। कार्यक्रमको आज पाल्पास्थित आयुर्वेद स्वास्थ्य केन्द्र, तानसेनमा प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारु ले उद्घाटन गर्नुभयो।

शुभारम्भ कार्यक्रममा मन्तव्य राख्दै मन्त्री सारुले आयुर्वेद चिकित्सा पद्धतिको ऐतिहासिक महत्व उल्लेख गर्दै करिब चार हजार वर्ष पुरानो ग्रन्थ काश्यप संहिता मा स्वर्णविन्दु प्राशनबारे स्पष्ट व्याख्या गरिएको बताउनुभयो।

उहाँका अनुसार स्वर्णभस्म, ब्राह्मी घृत र शुद्ध महको निश्चित मात्रामा तयार गरिने यो मिश्रण ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई सेवन गराइन्छ। उहाँले स्वर्णविन्दु सेवनले बालबालिकाको स्मरणशक्ति र पाचन क्षमता वृद्धि गर्ने, साथै रोग प्रतिरोधात्मक क्षमता सुदृढ बनाउने विश्वास रहेको बताउनुभयो।

दीर्घकालीन रूपमा बाल स्वास्थ्य सुधारमा यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको पनि उहाँको भनाइ थियो। प्रदेश सरकारले यो कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढाउँदै सबै जिल्लामा विस्तार गर्ने तयारी गरेको जनाएको छ।

‘स्वर्णविन्दु प्राशन’ आयुर्वेदमा आधारित एक परम्परागत बाल स्वास्थ्य प्रवर्द्धन विधि हो। यसको उल्लेख करिब चार हजार वर्ष पुरानो ग्रन्थ काश्यप संहिता मा पाइन्छ। उक्त ग्रन्थमा स्वर्णभस्म, ब्राह्मी घृत र शुद्ध महको निश्चित मात्रामा तयार गरिने औषधीय मिश्रण साना बालबालिकालाई सेवन गराउने विधिबारे व्याख्या गरिएको छ।

नेपालका विभिन्न प्रदेशहरूमा, विशेषगरी लुम्बिनी प्रदेशमा, बालबालिकाको समग्र स्वास्थ्य सुधार गर्ने उद्देश्यले यसलाई अभियानका रूपमा पुनः सञ्चालन गरिएको हो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :