नवनियुक्त स्वास्थ्य, जनसंख्या मन्त्री निशा मेहताद्धारा पदवहाली

स्वास्थ्यसमाचार/ नवनियुक्त स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले पदवहाली गरेकी छन् । स्वास्थ्य मन्त्रालयमा पुगेर उनले पदवहाली गरेकी हुन् ।

यसअघि उनले राष्ट्रपति रामचन्द्र पौडेलसंग पद तथा गोपनियताको सपथ लिएकी थिइन् ।सुनसरी इनरुवाकी मेहता प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाट समानुपातिकमा सांसद बनेकी हुन् ।

को हुन् स्वास्थ्य मन्त्री बन्न लागेकी निशा मेहता?

नवनियुक्त स्वास्थ्य, जनसंख्या मन्त्री निशा मेहताले  नर्सिङ पेशाबाट राजनीति हुँदै संघीय संसद्सम्म पुगेकी मेहता अब देशको स्वास्थ्य नीतिको नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पुग्ने भएकी छिन्।

इनरुवाकी मेहता पेशागत रूपमा नर्स हुन्। स्वास्थ्य सेवामा सक्रिय रहँदै उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापनाकालदेखि नै साधारण सदस्यका रूपमा आबद्ध थिइन्। अघिल्लो निर्वाचनमा पार्टीले उनलाई समानुपातिक सूचीमा राखे पनि उनी सांसद बन्न सकेकी थिइनन्। यसपटक भने उनी मधेशी क्लस्टरबाट प्रतिनिधिसभा सदस्य बनेर संघीय संसद्मा पुगेकी हुन्।

२२ साउन २०४४ मा इनरुवामा जन्मिएकी मेहताको रुचि राजनीतिमा पहिलेदेखि नै थियो। भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि उनले विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा सेवा दिएकी थिइन्। संसदीय यात्रामा लागेपछि उनले उक्त अस्पतालबाट राजीनामा दिएकी हुन्। स्वास्थ्य क्षेत्रमा काम गर्दा उनले सेवा प्रणालीका कमजोरी, पहुँचको असमानता र व्यवस्थापनका चुनौतीलाई नजिकबाट बुझ्ने अवसर पाएकी थिइन्।

नेपाल प्रहरी श्रीमती संघ, कोशी प्रदेशमा प्रशासन सचिवका रूपमा उनले स्वास्थ्य शिविर सञ्चालन, महिला तथा बालबालिकासम्बन्धी कार्यक्रम र समुदाय केन्द्रित गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेकी छन्।

उनका श्रीमान् डा. सरोज सिंह कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) हुन्।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :