स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सचिव. डा रोशन पोखरेल र अतिरिक्त सचिव डा. दीपेन्द्र रमण सिंहलाई औपचारिक रुपमा बिदाइ गरेको छ।
आइतवार नै विशिष्ठ श्रेणीको पाँच वर्षे कार्यकाल पूरा गरेका डाक्टरहरुलाई मन्त्रालयले एक कार्यक्रमा आयोजना गरी बिदाइ गरेको हो।
स्वास्थ्यमन्त्री प्रदीप पौडेल तथा सचिव हरिप्रसाद मैनालीले उनीहरुलाई बिदाइ गरेका थिए। मन्त्री पौडेलले बिदाइ समारोहमा बोल्दै औपचारिक पदबाट बिदा भएपनि आफूले सल्लाहकारका रुपमा लिइरहने बताए। उनले अन्तिम समयसम्म योगदान गरेको भन्दै प्रशंसा गरेका थिए।
पौडेलले भने, ‘सचिव डा. पोखरेलसँग मन्त्री हुनुअघि पनि मैले सहयोग लिइरहेको थिएँ र औपचारिक पदबाट बिदा भएपनि म मन्त्री रहुन्जेल सम्म तपाईंहरु मेरो सल्लाहकार हुनुहुन्छ।’ अतिरिक्त सचिव डा. सिंहले पदबाट अवकाश प्राप्त गर्नुअघि एक मिनेट अघि प्रतिवेदन समेत बुझाएको उनले बताए।
मन्त्रालयका अर्का सचिव हरिप्रसाद मैनालीले सरकारले अनुभव अनुसारको उपयुक्त जिम्मेवारी फेरि पनि प्रदान गर्ने विश्वास व्यक्त गरे। चिकित्सकको रुपमा उहाँहरुले नेपालको स्वास्थ्य क्षेत्रमा जीवनभर सेवा दिने पनि उल्लेख गरे।
बिदाइ समारोहमा बोल्दै डा. पोखरेलले आफ्नो सचिवको कार्यकालमा ८ जना मन्त्रीसँग काम गरेको बताए। मन्त्री पौडेलसँग केही समय थप काम गर्ने रहर भएपनि समयका कारण नपाएको उनले बताए। आफूले दुर्गम हुम्लादेखि सचिवको जिम्मेवारीसम्म पुग्दा सकेसम्म राम्रो गर्ने कोशिस गरेको बताए। डा. पोखरेलले २०७८ साउन ५ गतेबाट स्वास्थ्य सेवामा प्रवेश गरेको बताए।
अतिरिक्त सचिव डा. दिपेन्द्र रमण सिंहले आफू हेल्थ असिस्टेन्ट पढाइ सकिनुअघि नै साढे १७ वर्षको उमेरदेखि स्वास्थ्य सेवामा रहेको स्मरण गरे। डा. सिंहले भने, ‘मैले स्वास्थ्य सेवामा ३७ वर्ष बिताएँ। हामीले स्वास्थ्य सेवामा आउँदा २०/२५ वटा जिल्ला अस्पतालमा मात्रै आकस्मिक सर्जरी हुन्थ्यो। अहिले धेरै अस्पतालमा हुन्छ। तर स्वास्थ्य उपचार मात्रै होइन, रोग लाग्नै नदिनेगरी काम गर्नुपर्छ।’
डा. पोखरेल र डा. श्रेष्ठ २०७६ फागुन १२ गते विशिष्ठ श्रेणीको प्रमुख विशेषज्ञ पदमा बढुवा भएका थिए। डा. पोखरेल २०७८ साउन ४ गते सचिवमा नियुक्त भएका थिए।
प्रतिकया दिनुहोस्