लुम्बिनीमा सुरक्षित गर्भपतन गराउने बढ्दै, २० वर्ष मुनिका १० प्रतिशत

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा गर्भपतन गराउनेको संख्या बढेको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्याङ्क अनुसार गर्भपतन गराउने मध्ये २० वर्ष मुनिका करिव १० प्रतिशत रहेका छन् ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन, २०७५ को भाग ४ को दफा १५ ले गर्भवती महिलाको अवस्थाअनुसार १२ हप्तादेखि २८ हप्तासम्मको गर्भपतन गराउन सकिने व्यवस्था भएसँगै सुरक्षित गर्भपतन गराउने बढ्दै गइरहेको स्वास्थ्य निर्देशनालय ले जनाएको छ ।

लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा १९ हजार ८ सय २० जनाले सुरक्षित रुपमा गर्भपतन गराएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा गरी १९ हजार ८ सय २० जनाले गर्भपतन गराएका हुन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा लुम्बिनी प्रदेशमा १८ हजार १ सय ७ जनाले सुरक्षित गर्भपतन गराएका थिए ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका तथ्याङ्क अधिकृत मन बहादुर वलीका अनुसार सुरक्षित गर्भपतन गराउने मध्ये १८ हजार ८ सय ७६ जना २० वर्ष भन्दा माथि उमेर समूहका महिला छन् भने ९ सय ४४ जना २० वर्ष भन्दा कम उमेरका किशोरीहरु रहेका छन् । १५/१६ वर्षकै उमेरमा पनि गर्भपतन गराउन आउने तथ्यांक रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै सुरक्षित गर्भपतन गराउनेको संख्या रुपन्देही जिल्लामा रहेको छ भने सबै भन्दा कम रुकुम पूर्वमा रहेको वलीले बताए । गत आर्थिक वर्षमा रुपन्देहीमा मात्रै ४ हजार ८ सय ९ जनाले सुरक्षित गर्भपतन गराएका थिए भने रुकुम पूर्वमा १ सय २१ जनाले मात्रै गर्भपतन गराएको स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत वलीले बताए ।

स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार १३ हजार ८ सय ९८ जनाले मेडिकल विधिबाट सुरक्षित गर्भपतन गराएका छन् । जस मध्ये १३ हजार २ सय ८४ जना २० वर्ष भन्दा बढी उमेर समूहका महिला र ६ सय १४ जना २० वर्ष भन्दा कम उमेरका किशोरीहरु रहेका तथ्याङ्क अधिकृत वलीले बताए ।

तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा ५ हजार ९ सय २२ जनाको सर्जिकल विधिबाट सुरक्षित रुपमा गर्भपतन गराइएको पाइएको छ । जसमध्ये ५ हजार ५ सय ९२ जना २० वर्ष भन्दा बढी उमेर समूहका महिला र ३ सय ३० जना २० वर्ष भन्दा कम उमेर समूहका किशोरीहरु रहेका छन् ।

पहिले सुरक्षित गर्भपतन गराउने सूचीकृत स्वास्थ्य संस्थाको संख्या कम भएका कारण सबैको पहुँच थिएन । अहिले सूचीकृत स्वास्थ्य संस्थाहरूको बढेसँगै सबैको पहुँच हुदा गर्भपतन गराउनेको संख्या पनि बृद्धि भएको हुन् सक्ने तथ्याङ्क अधिकृत वली बताउछन् ।

वलीका अनुसार निर्देशनालयले सुरक्षित गर्भपतनका विषयमा विभिन्न जनचेतना दिन थालेपछि विगतमा असुरक्षित गर्भपतन गराउने गरेका कारण अहिले सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको देखिएको हुन सक्छ । निर्देशनालयले समाजमा सचेतनाका विभिन्न कार्यक्रमहरु संचालन गरेकाले पनि सुरक्षित गर्भपतन गराउनेहरूको संख्या बढ्दै गएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पहिला सुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्थाको कमी, अज्ञानता, सबैको पहुँच हुन नसक्नु जस्ता समस्याले सुरक्षित गर्भपतन गर्नेको संख्या निकै कम हुने गरेको थियो ।

सम्बन्धित शिर्षक :