स्वास्थ्यसमाचार/रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले दुईबाट विधेयक पारित गरेको छ । हिउँदे सभाको १७ औं अधिवेशनबाट नगरपालिकाले प्राविधिक कर्मचारी व्यवस्थापन गर्न बनेको विधेयक र नगरको शिक्षा ऐन २०७४ लाई प्रथम संसोधन गर्न बनेको विधयकलाई पारित गरिएको हो ।
सोमवार भैरहवा स्थित महेन्द्र सभागृहमा भएको सभामा सभा अध्यक्ष एवं सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले नगरको प्रगति विवरण सहित यि दुइवटा विधयक सभामा प्रस्तुत गरेका थिए ।
सभाले छलफल पछि विधयकलाई पारित गरेको हो । विधयक पारित भएसंगै सिद्धार्थनगरलाई प्राविधिक कर्मचारी करारमा राख्न वाटो खुलेको छ । विधायकमा करार तर्फ इन्जिनियरिङ्ग, कृषी, पशु, स्वास्थ्य तथा प्राविधिक तर्फ अन्य कर्मचारी करारमा राख्न पाउने उल्लेख छ ।
त्यस्तै शिक्षा विधयक संसोधन पछि नगर शिक्षा समितिमा उप प्रमुख समेत सदस्य रहने व्यवस्था गरिएको छ । विधायकमा नगर प्रमुख अध्यक्ष भन्ने वाक्यको पछाडी नगर उप प्रमुख उपाध्यक्ष भन्ने थप गरिएको छ ।
नगर सभामा नगरको चालु आर्थिक बर्षको प्रगती सार्वजनिक गर्दै नगर प्रमुख इश्तियाक अहमद खाँले ५७ औँ स्थापना दिवस २०८१ भब्य रुपमा सम्पन्न भएको, नगर सरसफाई, सडक बत्ति व्यवस्थापन तथा नगरका विभिन्न स्थानमा गत बर्ष स्मार्ट लाईट जडान गरी सो कार्यको यस बर्ष फस्छौँट कार्य सम्पन्न भएका बताए ।
उनले छाडा चौपाया व्यवस्थापन, फोहोरमैला दिगो र मितव्ययी एवं गुणस्तरीय व्यवस्थापनको लागि सार्वजनिक सूचना मार्फत प्रस्ताव आह्वान, नगरको सौन्दर्यीकरणको लागि तिन पाङ्ग्रे रिक्सा व्यवस्थापनका साथै ठेलाको व्यवस्थापन, पार्किंङ व्यवस्थापन तथा अनधिकृत सडक तथा फुटपाथ अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु हटाउने कार्यका साथै नगरपालिकाको नीतिगत निर्णयलाई कार्यान्वयन गर्न १५ जना नयाँ नगर प्रहरी समेत नियुक्ति गरिनेलाई पनि चालु आर्थिक बर्षका महत्वपुर्ण उपलब्धी रहेको उल्लेख गरे ।
त्यस्तै उनले सिद्धार्थनगर नगरपालिकामा नेपाल सरकार, प्रदेश सरकार तथा आन्तरिक स्रोतबाट भएको भौतिक पूर्वाधार तर्फका योजनाहरु कार्यान्वयनका लागि प्रक्रिया अगाडि बनाइसकिएको र पौष मसान्तसम्म पुर्वाधार निर्माण तर्फ ५९ वटा योजनाहरु बोल पत्र तथा दरभाउ पत्रका माध्यमबाट सूचना प्रकाशन भएकोमा ४६ योजना सम्झौता भइ बाँकी १३ वटा योजनाहरु सम्झौताको प्रकृयामा रहेको उल्लेख गरे ।
ठेक्का खोलिएका योजनाहरुको काम सम्पन्न भए पश्चात ग्राभेल सडक तर्फ ५.७ कि.मि., नाली निर्माण तर्फ ६.५ कि.मि., आरसिसि सडक तर्फ ३५२ मिटर तथा आरसिसि भवन निर्माण तर्फ १२ वटा रहेका छन । सार्वजनिक जग्गा तथा नगरपालिकाका विभिन्न भवनहरूमा पर्खाल निर्माण तर्फ १३९.७५ मिटर रहेको छ । यसै आर्थिक बर्षमा कार्यालय सन्चालनका लागि निर्माणमा रहेको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न गरी सोही भवनबाट सेवा प्रवाहको सुभारम्भ हुने उनले बताए ।
नगर उप प्रमुख उमा अधिकारीले एसियाली विकास बैक, नेपाल सरकार र सिद्धार्थनगर नगरपालिकाको संयुक्त लगानीमा संचालित हुन गइरहेको युआरएलआईपी योजनाको सम्झौता भएको र यसको छिट्टै कार्य प्रारम्भ हुने बताइन । प्रमुख प्रशासकिय अधिकृत जनक थापाले डण्डा करिडोर निर्माणको लागि बिस्तृत सम्भाव्यता अध्ययन शहरी विकास मन्त्रालय मार्फत भइरहेकोले यो समेत छिट्टै कार्यान्वयनमा आउने जानकारी दिए ।
प्रतिकया दिनुहोस्