नवलपरासीमा एचपीभी खोप एकैसाथ विभिन्न विद्यालयबाट शुभारम्भ

स्वास्थ्यसमाचार/नवलपरासीमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि खोप जिल्लाका विभिन्न विद्यालयबाट एकैसाथ शुभारम्भ गरिएको छ। जिल्लाका सातै पालिकाका विभिन्न विद्यालयहरूबाट खोप सुरु गरिएको हो।

जिल्लाका २०० विद्यालयमा २०१ खोप केन्द्र निर्माण गरी खोप सुरुवात गरिएको बताइएको छ। एचपीभी खोप सञ्चालनका लागि २०५ जना खोप स्वास्थ्य कार्यकर्ता र ३०८ जना स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ।

स्वास्थ्य कार्यालयले रामग्राम १२ स्थित सरस्वती माध्यमिक विद्यालय कसियाबाट जिल्लाभर खोप सञ्चालन गरिएको जानकारी दिएको हो। जिल्ला समन्वय समितिका प्रमुख एवं खोप समन्वय समितिका संयोजक भगौती यादव रूदलको अध्यक्षता र लुम्बिनी प्रदेशका सांसद बैजनाथ कलवारको प्रमुख आतिथ्यमा खोप शुभारम्भ गरिएको हो ।

कार्यक्रममा स्वास्थ्यकर्मीहरूलाई खोप सामग्री हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको हो। मङ्गलबार माघ २२ गतेदेखि २८ गतेसम्म चल्ने खोप अभियान कार्यक्रममा सभासद जयसवालले सबै मिलेर खोप अभियान सफल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

जिल्लाभर सञ्चालन हुने खोप अभियानबारे जानकारी दिँदै स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरव ढकालले आमन्त्रित सबैलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको खोप अधिकृत भेषराज शर्माले बताउनुभयो ।

सम्बन्धित शिर्षक :