दादुरा–रुबेलाविरुद्धको खोप पूर्णतः सुरक्षित : स्वास्थ्य अधिकारी

स्वास्थ्यसमाचार /स्वास्थ्य अधिकारीहरुले फागुन १ देखि सुरु हुने दादुरा–रुबेला विरुद्धको खोप पूर्णतः सुरक्षित रहेको जनाउँदै अभियानमा सफल बनाउन सबैलाई आग्रह गरेका छन् ।

राष्ट्रिय यो अभियान पहिलो चरणमा फागुन १ देखि ३० सम्म प्रदेश नं. १, २ र ५ मा यो अभियान चल्नेछ । यी प्रदेश दादुरा–रुबेलाबाट बढी प्रभावित छन् ।स्वास्थ्य कार्यालय, रुपन्देहीले आइतबार पत्रकारसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यालयका प्रमुख डा. राजेन्द्र कुमार गिरीले खोप पूर्णतः सुरक्षित रहेकाले यसमा विश्वस्त भई आफ्ना सबै बालबालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गरे ।

साविकका खोप केन्द्र तथा अभियानका लागि थपिने विशेष खोप केन्द्रबाट स्वास्थ्यकर्मीले ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई यो खोप लगाउने छन् । यो खोपसँगै जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई पोलियो थोपा समेत खुवाइने उनले जानकारी दिए ।

कोही नछुटुन् भन्ने उद्देश्यले खोप लगाएका बालबालिकाको हातमा चिन्ह समेत लगाइनेछ । यसअघि नियमित खोप लगाएका वा छुटेका सबै बालबालिकालाई यो खोप लगाइनेछ । नेपालबाट सन् २०२३ सम्म दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्यका साथ राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन हुँदैछ ।बच्चा जन्मिएको ९ र १५ महिनापछि यो खोप लगाउनुपर्छ । नेपालमा २१ प्रतिशत बालबालिकाले पूर्ण खोप नलगाएको सरकारी तथ्यांक छ भने एक प्रतिशत बालबालिका पूर्णतः खोपबाट वञ्चित छन् ।

 

रुपन्देही जिल्लामा तीन चरणमा खोप अभियान सञ्चालन गर्ने योजना बनाएको छ । प्रथम चरणमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकामा यो अभियान सञ्चालन हुनेछ । पहिलो चरणको अभियान फागुन १ देखि ९ गतेसम्म चल्ने कार्यालयका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।

यस्तै फागुन १३ देखि १७ गतेसम्म चल्ने दोस्रो चरणको अभियान सिद्धार्थनगर नगरपालिकामा कार्यान्वयन हुनेछ । फागुन १६ देखि बाँकी ८ स्थानीय तहमा तेस्रो चरणमा खोप अभियान चलाउने कार्यालयको तयारी छ । यस पटकको अभियानमा कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले तीन तहका सरकारले विशेष तयारी गरेका छन् ।

रुपन्देहीको सन्दर्भमा १५ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित रहेको सरकारी तथ्यांक छ । तिलोत्तमा नगरपालिका उप–प्रमुख जागेश्वरी चौधरीले यो अभियानमा लक्षित समूहका सबै बालबालिकालाई समेट्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका, सरोकारवाला सबै आ–आफ्नो ठाउँबाट खटिने बताइन् ।

‘पूर्ण खोप ः सुरक्षित भविष्य’ भन्ने नारासहित स्वास्थ्य मन्त्रालयले यो अभियान सञ्चालन गर्न लागेको हो ।

सम्बन्धित शिर्षक :