भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने सम्झौता

स्वास्थ्यसमाचार/भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गरिने भएको छ । जिल्लाको एकमात्र सरकारी अस्पतालमा उक्त सेवा विस्तारका लागि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग सम्झौता गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा केन्द्रसँग सम्झौता गरिएको हो ।

सम्झौतासँग अब भेरी अस्पताल नेपालगञ्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिनेछ । सोमवार भेरी अस्पतालमा एक कार्यक्रमकाबीच मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकार चन्द्र श्रेष्ठ र भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मन्त्री पौडेलले सबै संघीय अस्पतालहरुमा मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्ने सरकारको योजना रहेका बताउनुभयो । त्यहीँ क्रममा भेरी अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको उहाँको भनाइ छ । ‘सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने सरकारको योजना छ स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो,‘ पोखरा र सुर्खेतमा सेवा सुरु भइसकेको छ । अव भेरी अस्पतालमा पनि सेवा सुरु गर्ने गरी सम्झौता भएको छ । सातै प्रदेशमा अंग प्रत्यारोपण सेवा विस्तार गर्दै सेवालाई सर्वसुलभ र सहज बनाउने गरी लागेका छौं ।’

भेरी अस्पतालमा मिर्गौला सेवा संचालनका लागि मानव अंग प्रत्यारोपण केन्द्रले जनशक्तिदेखि प्राविधिक सहयोग गर्ने मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा.श्रेष्ठले बताउनु भएको थियो । सकेसम्म एक महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा भेरीबाट दिन सकिने उहाँको भनाइ छ ।

उहाँले मिर्गौला प्रत्यारोपण सेवा विस्तारका लागि भेरी अस्पतालमा जनशक्ति रहेको र अभाव भएका जनशक्तिहरू मनव अंग प्रत्यारोपण केन्द्रले काजमा व्यवस्थापन गरिसकेको जानकारी दिनुभयो ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले भेरी अस्पतालमा विशिष्टिकृत सेवा विस्तार गर्दै लैजानेक्रममा मानव अंग प्रत्यारोपण सेवा पनि विस्तार गर्न लागिएको बताउनुभयो । उहाँले अंग प्रत्यारोपण सेवा विस्तारका लागि आवश्यक पर्ने कानुनी जटिलता तथा सहजीकरणका लागि छिट्टै पहल गरिने पनि विश्वास दिलाउनु भएको हो ।

सम्बन्धित शिर्षक :