भीम अस्पताल भैरहवामा पहिलो पटक पित्त थैलिको अपरेशन

स्वास्थ्यसमाचार/ भीम अस्पताल भैरहवामा पित्तथैलीको शल्यक्रिया (अपरेशन) सुरु भएको छ । अस्पतालमा भर्ना भएकी एक महिलाको पित्तथैली पत्थरीको सफल शल्यक्रिया भएको भीम अस्पतालले जनाएको छ ।

रुपन्देहीकी ४२ वर्षिय सधिया खातुनको पित्तथैलीको पत्थरीको शल्यक्रिया भीम अस्पतालमा कार्यरत जनरल सर्जन डा. उत्सव कार्की र जनरल सर्जन डाक्टर राजिब ढकालले गरेका छन् ।भीम अस्पतालमा पहिलो पटक पित्त थैलीको सफल सल्यक्रिया भएको डाक्टरद्वय कार्की र ढकालको भनाइ छ ।

‘बिरामीले बारम्बार पेटको दाहिने भागमा दुःख्ने समस्या भएको बताएपछि चेकजाँच गरियो डाक्टर कार्किले भने । चेकजाँच गर्ने क्रममा पित्तथैलीमा पत्थरी (ढुंगा) भेट्टायौं’ उनले भने,‘त्यसपछि शल्यक्रिया गरियो, ’उनले भने ।

अस्पताल प्रमुख डा. शकुन्तला गुप्ताले पित्तथैलीको शल्यक्रिया भीम अस्पतालमा पहिलोपटक भएको बताइन् । उनले शल्यक्रिया भएको दोस्रो दिनमा बिरामीलाई डिस्चार्ज गरिएको जानकारी दिइन् । यो भीम अस्पतालको लागि गौरवको कुरा हो’उनले भनिन्, ‘आजसम्म पनि यति पुरानो अस्पतालमा यो शल्यक्रिया भएको थिएन । डा.उत्सव कार्की नेतृत्वको टीमलाई बधाई दिन चाहन्छु ।’

अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले पित्तथैलीमा ढुंगा जम्मा भए यो अपरेशन गरिने बताए । उनले भीम अस्पतालको इतिहासमा पहिलोपटक यो शल्यक्रिया गरिएको बताए । ‘अब यो शल्यक्रिया सेवाले निरन्तर रुपमा सञ्चालन हुन्छ’ उनले भने, ‘दुरबिन विधिबाट शल्यक्रिया गर्नका लागि अस्पताल विकास समितिबाट पहल गर्छौं ।’

अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्मा र अस्पताल प्रमुख डा. शकुन्तला गुप्ताले बिरामीलाई पुष्पगुच्छा दिएर शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बधाई ज्ञापन समेत गरेका थिए ।

सम्बन्धित शिर्षक :