बुटवलको बजारमा गुणस्तरहीन र मापदण्ड बिपरीत दुध बिक्रि

स्वास्थ्यसमाचार/शिशुदेखि बृद्धसम्म होस या रोगीदेखि नि रोगीसम्म पौष्टिक तत्वको लागि दूधको सेवन गरिन्छ । तर यही दूधमा व्यवसायीले अत्याधिक मात्रामा पानी मिसाएर बेच्ने गरेको पाईएको छ । सरकारले तोकेको गुणस्तर मापदण्ड भन्दा बिपरीत बुटवलको बजारमा दुध बिक्रि हुने गरेको खुलासा भएको छ।

सरकारले भैंसीको दूधमा न्यूनतम फ्याट ५ प्रतिशत , एस.एन.एफ. ८, गाईको दूधमा ३.५ प्रतिशत फ्याट , एस.एन.एफ. ७ र मिक्स दूधमा ३.५ प्रतिशत फ्याट एस.एन.एफ.को मात्रा ८ तोकेको छ । तर बुटवलको बजारमा १.८ प्रतिशत फ्याट भएको दुध विक्रि वितरण हुने गरेको पाईएको छ ।

बुटवल उपमहानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्राविधिक टोली र उपभोक्ता हित संरक्षण मञ्चको उपस्थितीमा गरेको अनुगमनमा अत्याधिक मात्रामा पानी मिसाएर वा फ्याट झिकेर दूध बेच्ने गरेको पाईएको हो ।

अनुगमन टोलीले बुटवलमा दुध सप्लायर्स गर्ने उद्योग, दूध वितरण गर्र्ने सहकारी र डेरीका १० वटा नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको प्रयोगशालामा परीक्षण गरेको थियो । १० वटै नमुनाको प्रयोगशालामा परिक्षण गर्दा नतिजा फेल आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरिक्षक दीपक कुमार यादवले जानकारी दिनुभयो ।

दूधबाट फ्याटको मात्र झिकिएको वा पानी मिसाएर बेच्ने गरेको पाईएको उहाँले जानकारी दिनुभयो । दूधको गुणस्तरमा कमी आएको गुनासो आउन थालेपछि बुटवल उपमहानगरपालिकाले पछिल्लो समय डेरीको अनुगमनलाई तिव्रता दिएको छ ।

बुटवलमा विक्रि वितरण हुने दुधको अवस्थाका विषयमा पहिले डेरी व्यवसायलाई सचेत गराउँदै अनुगमन गर्ने र मापदण्ड भन्दा बिपरीत पाइए तत्काल कारबाही गर्ने उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले जानकारी दिनुभयो ।

ब्यवसायी र उपभोक्तालाई सचेत गराउनको लागि अहिले माइकिङ गरिएको र अनुगमनका क्रममा मापदण्ड भन्दा बिपरीत दूध बेचेको पाइए तत्काल कारबाही गरिने उहाँले बताउनु भयो । उपमहानगरपालिकाले मापदण्ड भन्दा बिपरीत दूध बेच्नेलाई १० हजारसम्म जरिवाना लिन सक्ने ब्यवस्था रहेको अर्यालले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक :