नेकपा एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, शपथग्रहण सोमबार

स्वास्थ्यसमाचार/नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रतिनिधिसभाको दुईवटा प्रमुख दल नेपाली कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६(२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज ओलीलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण भोलि हुने भएको छ। राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानमन्त्री ओलीको शपथग्रहण समारोह भोलि बिहान ११ बजेका लागि तोकेको छ । राष्ट्रपतिको आह्वान लगत्तै ओलीले दाबी पेस गरेका थिए ।

चौथो पटक प्रधानमन्त्री बने ओली

ओली २४ असोज ०७२ मा पहिलोपल्ट प्रधानमन्त्री निर्वाचित भएका थिए । त्यसबेला व्यवस्थापिका संसदमा ५९७ सदस्यमध्ये ओलीले ३३८ मत प्राप्त गरेका थिए । ओलीको उम्मेदवारीलाई माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेशी जनअधिकार फोरमसहित अन्य १३ वटा दले समर्थन गरेका थिए ।

यस्तै, ०७४ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा ओली ३ फागुन ०७४ मा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए । उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाख ०७८ मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

अल्पमतको प्रधानमन्त्री भए पनि विपक्षी दलमध्ये कुनै पनि दलले बहुमतको सरकार गठन गर्न वा त्यसका लागि आफ्नो दाबी उपलब्ध समयसीमा भित्र राख्न असमर्थ भएपछि पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्री पुनः नियुक्ति गरेकी थिइन् ।

गत १७ असारमा दुई ठूला दल कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएपछि ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो ।

 

सम्बन्धित शिर्षक :