चन्द्रकोटमा सहज बन्दै प्रयोगशाला :५ स्वास्थ्य चौकीमा सेवा सुभारम्भ

स्वास्थ्यसमाचार गुल्मी जिल्लाको उत्तरपूर्वी गाउँपालिका चन्द्रकोट गाउँपालिकाको ग्वाधा स्वास्थ्य चौकीमा आजबाट औपचारिक रुपमा प्रयोगशाला ( ल्याव) सेवा प्रारम्भ भएको छ ।

पालिकाको विकट मानिने वडा नं. ५ मा अवस्थित ग्वाधा स्वास्थ्य चौकीमा ल्याव सेवा को प्रारम्भ भए पश्चात चन्द्रकोट गाउँपालिकामा ल्याव सेवा संचालन भएका वडाहरुको संख्या ५ पुगेको छ ।

पालिकाको शान्तिपुर स्वास्थ्य चौकी, तुराङ्ग स्वास्थ्य चौकी मजुवा, विशुखर्क स्वास्थ्य चौकीमा संचालन भएको ल्याव सेवा गत आर्थिक वर्ष मा वडा नं. १ को दिव्रुङ्ग स्वास्थ्य चौकी मा स्थापना गरिएको थियो ।

चालू आ व २०८०/८१ को वजेट कार्यक्रम अन्तर्गत वडा नं. ५ को वडागत वजेट सिरिङ्ग वाट रु ५ लाख वजेट विनियोजन गरि स्थापना गरिएको स्वास्थ्य प्रयोगशाला ल्यावमा गाउँपालिकाले ल्याव असिस्टेन्टको करार नियुक्ति गरि सेवा संचालनमा ल्याएको हो ।

ग्वाधा स्वास्थ्य चौकीको प्राङ्गणमा सोमबार आयोजित एक कार्यक्रमका वीच गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीले ल्याव सेवाको उदघाटन गर्नुभएको छ ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष पृथ वहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी , निमित्त प्रमुख प्रशासकिय अधिकारी प्रकाशचन्द्र शर्मा, वडा नं. ७ का वडाध्यक्ष अनन्तराम भण्डारी, लगायतका अतिथिहरूको सहभागिता रहेको थियो ।

वडा भित्रका मात्र नभएर कालिगण्डकी र सत्यवतीका नागरिकहरुले समेत सेवा लिन सक्ने ग्वाधा स्वास्थ्य चौकीमा ल्याव सेवाको स्थापनाले सम्पुर्ण ग्वाघावासिमा खुशी छाएको कुरा निवर्तमान वडाध्यक्ष टेक वहादुर पुन लगायतका समाजसेवी बताउनुभयो ।

नागरिकहरुको सहज गुणस्तरीय स्वास्थ्यमा पहुँचको सुनिश्चितता गर्न गाउँपालिका सधै लागिपरेको र छिट्टै पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषणाको तयारीमा रहेको र पालिका लाई शून्य होम डेलिभरी घोषणा गर्न तयारी भइरहेको समेत अध्यक्ष युवराज केसीले बताउनुभयो ।

सम्बन्धित शिर्षक :