नवलपरासीमा दादुरा–रुबेलाविरुद्धको खोप दुई चरणमा लगाइने

पहिलो चरणमा नगरपालिका र दोस्रो चरणमा गाउँपालिकामा मा खोप संञ्चालन

स्वास्थ्यसमाचार /पश्चिम नवलपरासीमा एक लाख बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइँदैछ । अभियानकै रुपमा सञ्चालन गरी लगाउन लागिएको खोप जिल्लाका सात पालीकामध्ये पहिलो चरणमा नगरपालिका र दोस्रो चरणमा गाउँपालिकामा सञ्चालन गरिनेछ ।

जसअनुसार फागुन १३ देखि १९ गतेसम्म रामग्राम,सुनवल र बर्दघाट नगरपालिकामा सञ्चालन गरिनेछ भने फागुन २१ गतेदेखि २७ गतेसम्म पाल्हीनन्दन,सरावल,प्रतापपुर र सुस्ता गाउँपालिकामा सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पन्थीले जानकारी दिए ।

सरकारले दादुराबाट उच्च जोखिममा रहेका काठमाडौं र तराई जिल्लामा रहेका ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यो रोग विरुद्धको खोप लगाउँदैछ । बाँकी जिल्लामा रहेका ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई उक्त खोप लगाउन अभियान नै सञ्चालन गरेको छ ।

जसअनुसार जिल्लामा रहेका ९ महिनादेखि १५ वर्षसम्मका कुल १ लाख ५ हजार ४५९ जना बालबालिकामा खोप लगाइने लक्ष्य रहेको स्वास्थ्य प्रमुख पन्थीले बताए । यो खोप नियमितरुपमा खोप लगाउँदा लगाएको भएपनि अभियानका बेला पनि अनिवार्य लगाउनुपर्नेछ ।

जिल्लाका ३७३ स्थानमा खोप केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको छ । त्यसका लागि ७७७ जना स्वास्थ्यकर्मी र १ हजार ८८ स्वयंसेवक गरी कुल १ हजार ८६५ जना जनशक्तिलाई परिचालन गरिने स्वास्थ्य प्रमुख पन्थीले जानकारी दिए । खोप केन्द्रका रुपमा यसअघि अभियानका रुपमा सञ्चालन भएका खोप केन्द्र,नियमित खोप केन्द्र र स्वास्थ्य संस्थालाई तोकिएको छ ।

सबै उमेर समूहमा देखिन सक्ने यो रोगबाट सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकाहरू जोखिममा रहेका छन् । यो रोगको उपचार नभएकाले खोप नै प्रभावकारी भएकाले अभियानको समयमा बालबालिकालाई नछुटाउन स्वास्थ्य कार्यालयले अभिभावकहरुलाई आग्रह गरेको छ ।सरकारले सन २०२६ सम्म दादुरा–रुबेला रोगको निवारण र पोलियो उन्मूलन गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित शिर्षक :