पश्चिम नवलपरासीमाअनुगम समितिद्वाराऔषधी र प्रयोगशालामा सिल

स्वास्थ्यसमाचार/पश्चिम नवलपरासीमा एक औषधी पसल र एक प्रयोगशालालाई रामग्राम नगरपालिकाको नगरस्तरीय अनुगमन समितिले सिल गरेको छ । नगरमा अवैध रूपमा एक औषधी पसल र एक प्रयोगशाला सञ्चालन गरेको पाइएकोले नगरस्तरीय अनुगमन समितिले औषधी पसल र प्रयोगशालामा सिल गरेको हो ।

स्थानीयबाट व्यापक जनगुनासो आएपछि औषधी पसलहरूलाई अनुगमन गरिएको रामग्राम नगरपालिकाको नगरस्तरीय अनुगमन समितिकी संयोजक एवम् कार्यवाहक नगरप्रमुख सम्झना चौधरीले जानकारी दिईन् ।

अनुगमन समितिले रामग्राम नगरपालिकाको वडा न १७ स्थित देवगाउँमा कुनै पनि निकायमा दर्ता नभएको गुप्ता मेडिकल हललाई सिल गरिएको र सोही वडा स्थित पटखौलीमा रहेको सेलिसा फर्माद्वारा सञ्चालित प्रयोगशाला कुनै पनि निकायमा दर्ता नगरी अवैध रूपमा सञ्चालन गरेको पाइएकोले प्रयोगशाला सिल गरिएको नगरस्तरीय अनुगमन समितिकी संयोजक एवम् कार्यवाहक नगरप्रमुख चौधरीले जानकारी दिइन् ।

अनुगमन समितिले जिल्लाको सदरमुकाम बुद्धचोक क्षेत्रमा रहेको औषधी पसल र रामग्राम नगरपालिकाको ग्रामीण क्षेत्रमा रहेको औषधी पसलमा अनुगमन गरिएको चौधरीले बताईन् । अनुगमनको क्रममा परासी सदरमुकाम रहेका केही औषधी पसलहरूले सेवाग्राहीसंग औषधीको मूल्यभन्दा चार गुणा बढी शुल्क लिइएको पाइएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख ओमप्रकाश पन्थीले बताए ।

औषधी व्यवस्था विभागबाट दर्ता भई फार्मेसी सञ्चालन रहेको तर तोकिएको उक्त व्यक्ति नभेटिएको र अधिकांश औषधी पसलहरूमा कागजातमा तोकिएको फार्मासिष्ट कागजमा मात्र सीमित नामको लागि मात्रै राखिएको देखिएकोले तुरुन्त तोकिएको व्यक्तिको उपस्थितमा फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको पन्थीले बताए ।

मापदण्ड विपरीत प्रयोगशाला सञ्चालन रहेको अझै त्यसमा पनि प्रयोगशालामा मूल्य सुची नराखेको अनुगमनको क्रममा भेटिएको रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए । अनुगमनको क्रममा औषधी व्यवस्था विभागमा दर्ता नभएको साथै म्याद गुज्रेएको औषधी बिक्री बितरण गरेको पाइएकोले उक्त औषधीहरू नियन्त्रणमा लिई जफत गरिएको र औषधी पसलहरू फोहोर व्यवस्थापन नगरेको देखिएकोले तुरुन्त फोहोर व्यवस्थापन गर्न निर्देशन दिइएको जनस्वास्थ्य निरीक्षक हरिजनले बताए ।

जिल्लाको सदरमुकाम बुद्धचोकमा रहेको जयसवाल साई स्वास्थ्य पोलि क्लिनिक प्रा लि, भैरब फार्मेसी, समिता मेडिकल हलर परासी मेडिकल हल तथा रामग्राम नगरपालिकाको ग्रामीण क्षेत्रमा रहेको सेलिसा फर्मा र गुप्ता मेडिकल हल गरी ६ वटा औषधी पसलमा अनुगमन गरिएको नगरस्तरीय अनुगमन समितिले जनाएको छ ।

स्वास्थ्य कार्यालय नवलपरासीको विशेष पहलमा अनुगमन समितिमा रामग्राम नगरपालिकाकी कार्यवाहक नगरप्रमुख सम्झना चौधरी, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख ओमप्रकाश पन्थी, रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजन ,स्वास्थ्य कार्यालयका ल्याब टेक्नीसियन निरीक्षक नारायण भण्डारी ,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक :