लुम्बिनी प्रादेशिक अस्पतालको सेवाप्रति ९७ प्रतिशत बिरामी असन्तुष्ट

रुपन्देही- लुम्बिनी प्रादेशिक अस्पतालको सेवाबाट बिरामीहरु असन्तुष्ट देखिएका छन्। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक एक हजार २०० बिरामी उपचारका लागि आउने गरे पनि अधिकांशले अस्पतालको उपचार सेवा राम्रो नभएको बताएका छन्।

अस्पतालमा चिकित्सक र नर्सले गर्ने व्यवहारदेखि सरसफाइ, खानेपानी र फार्मेसी सेवा सम्बन्धमा पनि बिरामीले गुनासो गरेका छन्। प्रदेश नं ५ को सरकारले अस्पतालले दिने सेवा सम्बन्धमा गरेको अध्ययनमा अधिकांश बिरामीले अस्पतालको सेवाबाट असन्तुष्टि व्यक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव एवं टेकनारायण पाण्डेले बताए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको सर्वेक्षणअनुसार अस्पताल आउने बिरामीमध्ये ९७ प्रतिशत बिरामीले अस्पतालको सेवाबाट सन्तुष्ट नभएको बताएका थिए। बाँकी तीन प्रतिशत बिरामीले मात्रै अस्पतालको सेवा राम्रो भएको प्रतिक्रिया दिएका थिए। बिरामीले अस्पतालमा चिकित्सक र नर्सले गर्ने व्यवहारसमेत सही नभएको बताएका थिए।

अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६९ प्रतिशतले चिकित्सकको व्यवहार ठीकठीकै लागेको प्रतिक्रिया दिएका थिए। अस्पताल आउने सात प्रतिशत बिरामीले मात्रै नर्सको व्यवहार राम्रो लागेको बताएको अध्ययनले देखाएको थियो। अस्पतालमा उपचारका लागि आउने बिरामीले प्रश्न गर्दा चिकितसक र नर्सहरुले उत्तर दिन झर्को मान्ने, बिरामीसँग राम्रो व्यवहार नगर्ने गुनासो यसअघि पनि गर्दै आएका थिए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अस्पतालको उपचार सेवा, सरसफाइ, खानेपानी र फार्मेसी सेवाका विषयमा समेत अधिकांश बिरामीले गुनासो गरेका छन्। अस्पतालको फार्मेसीमा औषधि नभएका कारण ७५ प्रतिशत बिरामीले अस्पतालबाहिर निजी क्लिनिकबाट औषधि किन्ने गरेको बताएका थिए।

अस्पतालमा आएका बिरामीमध्ये ल्याब जाँच गर्नुपर्ने बिरामीहरु चिकित्सक र नर्सको सिफारिसमै निजी क्लिनिकमा जाने गरेका छन्। अस्पतालमा ल्याब परीक्षण गराउँदा सस्तो पर्ने भए पनि आफूलाई आउने कमिशनका कारण चिकित्सक र नर्सले निजी क्लिनिकमा ल्याब परीक्षण गर्न पठाउने गरेका छन्। त्यसरी चिकित्सक र नर्सको सिफारिसमै ल्याब जाँच गर्न बाहिर जाने बिरामी ३२ प्रतिशत रहेका छन्।

अस्पतालको सरसफाइमा सुधार हुन नसक्दा बिरामीका गुनासा पुरानै छन्। बिरामीहरुले प्रयोग गर्ने अस्पतालको शौचालयसमेत प्रयोग गर्न लायक छैन। शौचालयको दुर्गन्धका कारण अस्पतालमा बस्नसमेत समस्या भएको बिरामीको गुनासो छ । अस्पताल आउने ७७ प्रतिशत बिरामीले अस्पतालको सरसफाइ राम्रो नभएको बताउँछन्।

अस्पतालको सेवा सुधार गरी बिरामीलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले अस्पतालमा आन्तरिक सर्वेक्षण गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव ज्ञानहरी घिमिरेले बताए। उनले सर्वेक्षणको प्रतिवेदन सम्बन्धित मन्त्रालय र कार्यालयलाई प्रदान गरी सेवासुधारका लागि समय दिने बताए। ुअस्पतालको सेवाप्रति बिरामीको धेरै गुनासो छ, अब सरोकारवालासँग बसेर कसरी अगाडि जाने भन्नेबारे छलफल गर्छौुं, उनले भने ।

विसं १९६७ फागुन १५ गते जितगढीमा स्थापना भएको अस्पताल २०२४ सालमा लुम्बिनी अञ्चल अस्पतालका रुपमा परिणत भएको थियो। २०७५ माघमा प्रदेश मातहत आएर अहिले लुम्बिनी प्रादेशिक अस्पतालका रुपमा सञ्चालित छ। प्रदेशका सबैजस्तो जिल्लाबाट बिरामीहरु उपचारका लागि यहाँ आउँछन्। अस्पतालमा प्रायः सबै रोगका विशेषज्ञहरु छन्। तर अस्पतालका जागिरे चिकित्सकले अस्पतालभित्र भन्दा बाहिरका निजी क्लिनिकमा बढी समय दिएपछि समयमा सेवा पाउन नसकेको बिरामीको गुनासो छ।

प्रदेश सरकारले अस्पतालमा विशिष्टीकृत सेवा सञ्चालन गर्न प्रक्रिया अघि बढाएको छ। प्रदेशको गौरवको आयोजनाका रुपमा लिएर प्रादेशिक अस्पताललाई विशिष्टीकृत अस्पतालका रुपमा विकास र विस्तार गर्नका लागि प्रक्रिया अघि बढाइएको हो। अस्पतालमा भवन अभावका कारण बिरामीलाई सेवा दिन समस्या भएपछि डाइग्नोष्टिक भवन बनाउन शुरु गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। अस्पतालको स्तरवृद्धि गर्दै जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिने रणनीतिअनुरुप काम अगाडि बढाएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए।

 

अस्पतालको सेवा सुधारका लागि इमर्जेन्सी र प्रसूति सेवालाई प्राथमिकतामा राखेर काम अघि बढाएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए। ुअस्पतालको सेवा प्रभावकारी बनाउन कर्मचारीको अनुशासन र व्यवहारलाई विशेष ध्यान दिएका छौँु, उनले भने। रासस

सम्बन्धित शिर्षक :