राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट फेलोसिप सञ्चालन गर्ने

स्वास्थ्यसमाचार/ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोस्ट डक्टरल फेलोसिपफेलोसिप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रष्तिठानले एक वर्षे जेरियाट्रिक मेडिसिनमा पोस्ट डक्टरल फेलोसिप सञ्चालन गर्नका लागि पाठ्यक्रम समेत तयार पारेको छ । यसका बिषयमा जानकारी दिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले शुक्रबार राजधानीमा कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जेरियाट्रिक विधालाई अगाडि बढाउनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाठ्यक्रम नै बनाएर अगाडि बढ्नु राम्रो कामको सुरुवात भएको बताए । रोग लागिसकेपछि उपचार गराउनुभन्दा रोग लाग्नै नदिने किसिमका बिषयबस्तु पनि समावेश हुनु पर्नेमा मन्त्री बस्नेतले जोड दिए ।

नेपालमा बिस्तारै जेष्ठ नागरिकको संख्या बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्री बस्नेतले उनीहरुको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यको भएकाले बेलैमा त्यसको क्षेत्रमा काम गर्नु पर्ने आवश्यकता रहेको बताए । बस्नेतले भने, ‘ आमाबुबाले सानैमा बच्चालाई बोर्डिङ जिम्मा लगाउने र तिनै आमाबुबालाई छोराछोरीले बुढो भएपछि केयर सेन्टरमा राख्ने परिपाटी हटाउनु आवश्यक छ । ’

मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐनमा संसोधन गरेर स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने वातावरण बनाउन सरकार लागि परेको बताए । उनले भने, ‘ चिकित्सा शिक्षा ऐनमा तत्काल संसोधन गर्न नसकिए अवको ५ वर्षपछि डाक्टर र नर्स खोज्न बिदेश जानु पर्ने हुनसक्छ । ’ कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी पी बिच्छाले देशको जनसंख्याको कुल १० प्रतिसत जेष्ठ नागरिक भएको तथ्यांक सुनाउदै उनीहरुको स्वास्थ्य र हेरचाहका लागि राज्यले दीर्घकालिन नीति आवश्यक रहेको बताए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बिकाश लामिछानेले प्रतिष्ठानले नेपालमा पहिलो पटक स्नातकोत्तर तहमा एमएस र एमडी गरेकालाई एक वर्षको जेरियाट्रिकमा फेलोसिप कार्यक्रम सुरु गर्न लागेको बताए ।

जेष्ठ नागरिक विज्ञ डा. रमेश कडेलले देशका ६१ वटा अस्पतालमा जेरियाट्रिक वार्ड रहेको जानकारी गराउदै नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका ८ जना जेरियाट्रिक विज्ञहरु मध्ये अहिले ३ जना मात्र कार्यरत रहेको बताए ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा. डा. भरत यादव नेतृत्वको ११ जना विज्ञ रहेको समूहले उक्त पाठ्यक्रम बनाएको हो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटा लगायत विज्ञहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक :