‘डिजिटल ’माध्यमबाट स्वास्थ्यलाई पहुँचयोग्य र गुणस्तरीय बनाइने छ : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सबै किसिमका उपाय र प्रविधिको अबलम्बन गरी स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

डिजिटल हेल्थ दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मन्त्री बस्नेतले ‘डिजिटल हेल्थ’ माध्यमबाट स्वास्थ्य सेवालाई मितव्ययी, सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउने बताए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७६ साउन ४ गते ‘ईहेल्थ’ मार्गचित्र कार्यान्वयनमा ल्याएको थियो। सोही दिनदेखि मन्त्रालयले हरेक वर्ष साउन ४ गते डिजिटल हेल्थ दिवस मनाउँदै आएको छ।

मन्त्री बस्नेतले सन्देशमार्फत ई–हेल्थ रणनीति २०७४ र सोको कार्यान्वयनका लाग तयार गरिएको मार्गचित्र तयार गर्नेलाई समेत धन्यवाद दिएका छन्। स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रयोगका लागि विश्व स्वास्थ्य सङ्गठनको ‘ई(हेल्थ’को अवधारणालाई मन्त्रालयले अवलम्बन गर्दै विस्तारित रुप ‘डिजिटल हेल्थ’को कार्यान्वयनको चरणमा पुगेको हो।

“डिजिटल हेल्थलाई स्वास्थ्य क्षेत्रको व्यवस्थापकीय क्षमतावृद्धि र आधुनिकीकरण गरी स्वास्थ्य सेवालाई मितव्ययी, सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउँदै स्वास्थ्यकर्मीको व्यावसायिक क्षमता वृद्धि गर्ने औजारको रुपमा लिएका छौँ”, उनले भने।

स्वास्थ्य सेवामा विशेषज्ञ जनशक्तिको अभाव, स्वास्थ्य सेवा लिँदा लाग्ने समय, खर्च र श्रम न्यूनीकरण जस्ता विषयलाई समेत प्रविधिमा आधारित स्वास्थ्य सेवाले सम्बोधन गर्ने उनको विश्वास छ। बञ्चितिकरणमा परेका र दुर्गम क्षेत्रका बासिन्दालाई पहिलो प्राथमिककतामा परे पनि सेवाबाट बञ्चित हुनसक्ने र प्रविधिको दुरुपयोग रोक्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ छ।

सन् २०२१ को सूचना जनगणनाका अनुसार झण्डै ७३ प्रतिशत घरपरिवारमा कम्तीमा एउटा स्मार्ट मोबाइल फोन, आधाजसो परिवारमा टेलिभिजन रहेको र ३८ प्रतिशत परिवारमा इन्टरनेटमा पहुँँच छ। यस्तै, ५५ प्रतिशत स्वास्थ्य संस्थामा इन्टरनेट सहितको कम्प्युटर रहेको तथ्यले स्वास्थ्य क्षेत्रमा सूचना तथा प्रविधिको प्रयोग बढिरहेको देखिएको मन्त्रालयको भनाइ छ।

स्वास्थ्य सूचना प्रणाली सुदृढीकरण, टेलिमेडिसिन र डिजिटल प्रविधियुक्त अन्य स्वास्थ्य सेवा, आम सञ्चार र स्वास्थ्य शिक्षा, आपतकालीन स्वास्थ्य, मानव स्रोत व्यवस्थापन, स्वास्थ्य बीमा जस्ता क्षेत्रहरुलाई प्रारम्भिक रुपमा कार्य सूची बनाई क्रमश सूचना प्रविधिको दायरा बढाउन मन्त्री बस्नेतले आग्रह गरे।

 

सम्बन्धित शिर्षक :