सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन स्टाफ नर्सहरुलाई तालिम

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रले औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन सेवा संचालन गर्ने स्वास्थ्य संस्थाका स्टाफ नर्सहरुका लागि ५ दिने तालिम संचालन गरेको छ ।

नेपालगन्जको भेरी अस्पतालमा संचालित तालिमका सहभागीहरुलाई भेरी अस्पताल नेपालगन्जका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा उर्मिला अर्याल, डा। नवीन बुढाथोकीले प्रशिक्षण दिएका थिए । तालिममा बाँके बर्दिया र दाङका विभिन्न अस्पतालहरुमा कार्यरत नर्सहरु सहभागी भएका छन् ।

नेपाल सरकारले सन् २००२ देखि सुरक्षित गर्भपतन सेवालाई कानुनी रुपमा मान्यता दिएको थियो । औषधिद्वारा गरिने गर्भपतन सेवा सन् २००९ देखि सुरू भएको हो । यो सेवा अहिले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका करिब ६ सय वटा स्वास्थ्य संस्थाहरुमा विस्तार भइसकेको छ ।

औषधिद्वारा गरिने गर्भपतन सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुका लागि तालिम संचालन गरिएको लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत अरुण ज्ञवालीले बताए । सन्तानको रहर पुगिसकेपछि पनि गर्भ रहन सक्छ ।

अनिच्छित अवस्थामा रहेको गर्भलाई १० हप्ता अर्थात ७० दिनसम्म औषधिको प्रयोग गरेर सुरक्षित रुपमा गर्भपतन गराउन सकिन्छ । नेपालका सूचीकृत स्वास्थ्य संस्थाहरुमा औषधिको प्रयोग गरेर गरिएका गर्भपतन करिब ९६ प्रतिशत प्रभावकारी भएको विज्ञहरुले दाबी गर्दै आएका छन् । त्यसैले लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रले यो वर्ष नेपालगन्जको भेरी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र परिवार नियोजन शाखा कार्यालय बुटवलमा गरी १ सय ३० जना स्वास्थ्यकर्मीहरुलाई तालिम दिएको छ ।

गर्भपतन सेवाका लागि गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सूचीकृत हुनुपर्छ । गर्भपतन सेवाका लागि सूचीकृत भएका वा मान्यता प्राप्त गरेका संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो राखिएको हुन्छ । नेपालमा औषधि मुखबाट सेवन गरेको २४ देखि ४८ घण्टासम्ममा अर्कोथरीका औषधि योनीमार्गमा वा जिब्रोमुनि राख्नु पर्छ ।

बिना कुनै प्राविधिक जटिलता, सजिलै अनि घरमा पनि प्रयोग गर्न सकिने बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत ज्ञवालीले बताए । औषधिहरुद्वारा सुक्षित गर्भपतनको गराउनका लागि पाठेघरको आकार पत्ता लगाउन भिडियो एक्स—रे अल्ट्रासाउण्ड गर्नुपर्छ । र, गर्भपतन पूर्ण रुपले भयो वा भएन भनेर परिक्षण गर्नुपर्छ । पहिलेको गर्भ तथा प्रसुति सम्बन्धि समस्याहरु, अन्य दीर्घरोगहरु, विभिन्न स्वास्थ्य समस्याका लागि औषधिहरु सेवन गरिरहेको अवस्था आदिका बारेमा जानकारी लिएर मात्रै गर्भपतन गरँउनुपर्छ ।

समयको अभावमा वा सूचीकृत चिकित्सकलाई झन्झट मानेर उचित परामर्श र पूर्ण परीक्षण बिना गरिने गर्भपतन असुरक्षित हुन्छ । त्यसैले पैसा, समय र गोपनीयता बचाउनका लागि सूचीकृत स्वास्थ्य संस्थामा नगएर अनाधिकृत व्यक्तिको भर पर्दा दुःख पर्ने मात्र होइन्, ज्यानै पनि जान सक्छ । निश्चित समयसम्म गर्भपतन गराउनु सुरक्षित भएपनि यो अन्तिम विकल्प मात्र हो ।

गर्भपतन नगराएर अनावश्यक बच्चाको जन्म दिनु पनि उपयुक्त हुँदैन् र गर्भपतन रोज्नुपर्ने हुन्छ । त्यसैले यस्तो अवस्था आउन नदिनु नै उत्तम उपाय हुन्छ । यसका लागि परिवार नियोजनका साधनहरु प्रयोग गर्नु उपयुक्त हुन्छ ।

सम्बन्धित शिर्षक :