स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै बुटवलले ल्यायो नीति तथा कार्यक्रम

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।बुटवल उपमहानगरपालिकाको १३औं नगरसभा अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम पेश गर्नुभएको हो ।

३०२ वटा बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा बुटवलमा लगानी आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउन गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन गर्ने, पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्दै बुटवललाई उपयुक्त विश्रामस्थलको रुपमा विकसित गर्ने, रात्रीकालीन बजार सञ्चालन गर्ने उल्लेख छ ।

‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर’ भन्ने दीर्घकालीन सोंचलाई अगाडि सारेको बुटवलले बुटवलको मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने, उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मूख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने, आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी शहरलाई जीवन्त बनाउने र सेवाप्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने रणनीति अबलम्बन गरिनेछ प्रमुख पाण्डेयले बताउनुभयो ।

शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि नगरप्रमुख शैक्षिक विकास कार्यक्रम सञ्चालन गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पतालमा पारामेडिकल, बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआइ)मा डिप्लोमा तहका इन्जिनियरिङ विषयहरु र अटो भिलेजमा स्नातकमा तहको अटो इन्जिनियरिङको अध्ययन शुरु गर्ने नीति बुटवलले ल्याएको छ ।

नगर प्रमुख पाण्डेयले बुटवलको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि स्वास्थ्य उपचार र जनशक्ति उत्पादनमा जोड दिएको बताउँदै सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा नगरप्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।यस्तै, बुटवल १३ र १७ मा १५।१५ सैयाका अस्पताल सञ्चालन गर्ने र वडा नम्बर १३ को अस्पतालमा अस्पतालमा चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

बुटवलबासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थको शुल्क हटाउने, जेष्ठ नागरिकको घरमै पुगेर उपचार गर्न बाआमासँग नगरप्रमुख कार्यक्रम ल्याएको प्रमुख पाण्डेयले बताउनुभयो ।

बुटवलमा इरिक्सा र टेम्पुधनी तथा चालक रहेका एकल महिला, लैंगिक तथा यौनिक अल्पसंख्यकलाई प्रोत्साहन गर्न नवीकरणमा २५ प्रतिशत र महिला सवारी धनी र चालकलाई प्रोत्साहन गर्न नवीकरणमा १५ प्रतिशत छुट दिने नीति बुटवलले ल्याएको छ ।

लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजा घर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थल निर्माण गरी सुविधासम्पन्न बसपार्कको रूपमा विकास गर्ने कार्यक्रमलाई बुटवलले प्राथमिकतामा राखेको छ ।
उज्यालो बुटवल कार्यक्रमअन्तरगत मुख्य मुख्य चोकहरुमा हाइमास्ट लाईट तथा भित्री सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाईटको जडान गर्ने भनिएको छ ।

बुटवलको मुख्य सडकक्षेत्रमा पैदलयात्री लेन, साइकल लेन, पार्किङ लेन निर्धारण गरिने नगर प्रमुखले बताउनुभयो । बुटवलभित्र मुख्य कार्यालय स्थापना गरी सूचना प्रविधि क्षेत्रमा काम गर्न चाहने स्टार्टअप कम्पनीहरुलाई सहुलियत प्रदान गर्ने, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्रवाह हुने मिथ्या सूचना न्यूनीकरण गर्न सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने कार्यक्रम बुटवलले अगाडि सारेको छ ।

विद्यालयस्तरमा खेलाडी उत्पादन गर्न मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने र विभिन्न खेल प्रतियोगिताहरु सञ्चालन गर्दै खेलमैदानहरुको स्तरोन्नति गर्न प्राथमिकता दिइने उल्लेख गरिएको छ ।मेरो टोल म सफा गर्छु’ भन्ने नाराका साथ ग्रीन एण्ड क्लिन सिटी बनाउन टोलविकास संस्थालाई परिचालन गरी नगरलाई सफा र सुन्दर बनाउने नीति तथा कार्यक्रममा समेटिएको छ ।

एक सामुदायिक वन–एक पोखरी, एक पार्क निर्माण, नगरलाई हरित शहरका रुपमा स्थापित गर्न एक घर तीन रुख, कृषिमा उत्पादकको मागः नगरको साथ, कृषि विकास, “के पाइन्छ होइन, के चाहिन्छ” भन्ने आकर्षक कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।

विद्यार्थीहरुलक्षित कमाउँदै पढ्दै गर्ने कार्यक्रम, युवाहरूका लागि रोजगारी सिर्जना गर्न मेयर युवा इलम कार्यक्रम, वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुको सीप पहिचान गरी स्वरोजगारमूलक बनाउने नीति तथा कार्यक्रममा समेटिएको छ ।

बुटवलमा पहिरोको मुख्य जोखिम रहेका ज्योतिनगर, मिलनपथ, पाखापानी, लक्ष्मीनगर र बाढीको जोखिममा रहेका तिनाउ दानव नदी किनारमा तटबन्ध गर्ने कार्यक्रम समेटिएका छन् ।

नगरक्षेत्र भित्रका सडकहरुमा स–साना खाल्टाखुल्टी पुर्ने तीब्र सेवाका लागि नगरप्रमुख पूर्वाधार एम्बुलेन्स, तिनाउ सभ्यतालाई प्रवद्र्धन गर्न तिनाउ नदीमा आरती केन्द्र स्थापना गर्ने, जितगढी किल्लाको संरक्षण गर्दै जितगढी युद्ध संग्रहालय निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने कार्यक्रमहरुले स्थान पाएका छन् ।

यस्तै, छाडा पशु चौपायाहरुको व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरी २००० बिगाह क्षेत्रमा गाई राष्ट्रिय निकुञ्ज निर्माण गर्न लुम्बिनी प्रदेश सरकारसँग समन्वय गर्ने र कुकुरको बन्ध्याकरण तथा घरपालुवा कुकुरहरुको अभिलेखीकरण गरी नियमन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएका स्वास्थ्यशिक्षा युवा तथा खेलकुद विषयगत नीतिहरु

७६. “बुटवल उपमहानगर, गुणस्तरीय शिक्षामा समान अवसर” भन्ने परिकल्पनालाई सार्थक बनाउन नगरप्रमुख शैक्षिक विकास कार्यक्रम सञ्चालन गरी विद्यालयहरुको शैक्षिक स्तरलाई वृद्धि गरिनेछ ।
७७. बालविकास केन्द्रहरूलाई बालविकास सम्बन्धी न्यूनतम मापदण्ड निर्धारण गरी बाल मनोविज्ञान अनुरूप सुरक्षित र सुविधा सम्पन्न बनाइने छ ।
७८. आधारभूत तथा माध्यमिक विद्यालयहरूलाई न्यूनतम मापदण्ड अनुरूप भौतिक तथा शैक्षिक पूर्वाधार सम्पन्न बनाइने छ ।
७९. सबै विद्यालय परिसरलाई बालमैत्री, छात्रामैत्री र अपाङ्गमैत्री बनाइने छ ।
८०. आधारभूत शिक्षालाई विद्यार्थी प्रतिभा पहिचान र माध्यमिक शिक्षालाई विद्यार्थी प्रतिभा विकासको नीति लिइनेछ ।
८१. फरक क्षमताका बालबालिकाहरूका लागि विशेष शिक्षाको व्यवस्था गर्न विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने छ ।
८२. माध्यमिक विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षाको पहुँचमा विस्तार गरी स्वरोजगार सिर्जना गर्न सक्ने जनशक्ति उत्पादनमा जोड दिइनेछ ।
८३. प्राविधिक तथा व्यवसायिक शिक्षालाई प्राथमिकता दिदै सिद्धार्थ बाल तथा महिला अस्पतालमा पारामेडिकल, बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआइ)मा डिप्लोमा तहका इन्जिनियरिङ विषयहरु, अटो भिलेजमा स्नातकमा तहको अटो इन्जिनियरिङको अध्ययन आरम्भ गर्न जोड दिइनेछ ।
८४. अनाथ एवं विपन्न परिवारका बालबालिकाहरूलाई अन्य बालबालिका सरह शिक्षाको पहुँचमा ल्याउन विशेष व्यवस्था मिलाइने छ ।
८५. सबै सामुदायिक विद्यालयहरूलाई पूर्ण प्रविधियुक्त बनाउन आवश्यक पूर्वाधारको व्यवस्था गरी शिक्षामा सूचना तथा सञ्चार प्रविधि र कम्प्युटर शिक्षाको प्रयोगलाई विशेष जोड दिइने छ ।
८६. न्यूनतम मापदण्डका आधारमा संस्थागत विद्यालयहरुको वर्गीकरण गरी न्यूनतम मापदण्ड बमोजिम सञ्चालन गर्न व्यवस्था मिलाइने छ ।
८७. नगरको शैक्षिक पाठ्यक्रमलाई भौगोलिक पहिचानसहित नैतिक र व्यवहारिक ज्ञान तथा विभेदपूर्ण व्यवहार न्यूनीकरण गर्न आवश्यकताअनुसार परिमार्जन गरी कक्षा निर्धारण गरिनेछ ।
८८. सामुदायिक विद्यालयमा अध्ययनरत भौगालिक रूपमा पछाडि परेका तथा विपन्न परिवारका बालबालिकाहरूलाई विद्यालयसम्म पहुँच विस्तार गर्न निःशुल्क पोशाकको व्यवस्था गरिनेछ ।
८९. विद्यालयहरुमा देखिएको विद्यार्थी भर्ना सम्बन्धी समस्यालाई पारदर्शी एवं व्यवस्थित गर्न मापदण्ड बनाइनेछ ।
९०. संस्थागत एवं सामुदायिक विद्यालयहरुका शिक्षक कर्मचारीहरुको क्षमता विकास गरी शैक्षिक स्तर सुधार गर्न जोड दिइनेछ ।
९१. विद्यालयहरुमा कायम रहेको दरबन्दी र आवश्यक दरबन्दीबारे अध्ययन गरी दरबन्दी मिलान तथा समायोजन गरिनेछ ।
९२. नगरको शिक्षा क्षेत्रको उन्नयनमा समान भूमिका हुने गरी सामुदायिक र संस्थागत विद्यालयहरुलाई प्रोत्साहन गरिनेछ ।
९३. विद्यालयहरुले प्रदान गर्ने छात्रवृत्ति र सहुलियतलाई प्रभावकारी बनाउन आवश्यक संयन्त्र निर्माण गरी एकद्वार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था गरिनेछ ।
९४. स्थानीय पाठ्यक्रमलाई आवश्यकताअनुसार परिमार्जन गर्दै बुटवलको पहिचान, जातीय पहिचान, भाषा, संस्कृति र सांस्कृतिक कार्यक्रम र नैतिक शिक्षा सम्बन्धि ज्ञान हुने विषयलाई जोड दिइनेछ ।
९५. सामुदायिक विद्यालयहरुमा आवश्यकता अनुसार बालशिक्षाको दरबन्दी सिर्जना तथा व्यवस्थापन गरिने छ । थप जनशक्ति नियुक्त गर्दा समावेशी सिद्धान्तलाई अबलम्बन गरिनेछ ।
९६. विद्यालय खाजा कार्यक्रम र सेनेटरी प्याडको सम्बन्धमा विद्यालयहरुसँग समन्वय र सहकार्य गरी आवश्यकताअनुसार कार्यान्वयन गरिनेछ ।
९७. ‘स्वच्छ नगर, स्वस्थ नगरबासी’को नीति लिई नगरमातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित र सुविधासम्पन्न बनाइनेछ । बुटवलबासीको नियमित स्वास्थ्य जाँच गर्ने कार्यक्रमलाई प्राथमिकता दिइने छ ।
९८.“नगरप्रमुखः स्वस्थ शिशुदेखि जेष्ठ नागरिकसम्म”को नीति लिदै नवजात शिशु र आमाको पोषण, स्वास्थ्य परीक्षण शिविरहरुलाई घरदैलोसम्म पु¥याइनेछ ।
९९. सर्ने तथा नसर्ने रोगहरुको परीक्षण तथा उपचारमा सहुलियत प्रदान गर्ने नीति लिइनेछ ।
१००. महामारीजन्य रोगको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मी लगायत कर्मचारीहरुको मनोबल उच्च पार्न विशेष प्रोत्साहनको कार्यक्रम ल्याइने छ ।
१०१. नियमित खोप, महामारीजन्य रोगविरुद्धका खोपलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै खोप लगाउन छुट भएका नगरबासीलाई खोपको पहुँचमा ल्याइनेछ ।

१०२. नगरबासीको स्वास्थ्य अवस्थालाई सुदृढ गर्नको लागि सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य आमा समूह, टोल विकास संस्था, सामाजिक स्वास्थ्य संस्था, युवा क्लब, बाल क्लब जस्ता संस्थाहरुलाई स्वास्थ्य सम्बन्धी कार्यमा परिचालन गरिनेछ र उत्कृष्ट कार्य गर्ने संस्थालाई सम्मान गर्ने नीति लिइनेछ ।
१०३. नगरवासीलाई जटिल रोगहरु (मुटुरोग, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमिया) को उपचारमा दिइने राहत अनुदानलाई थप व्यवस्थित गरी प्रभावकारी बनाइने छ ।
१०४. सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा नगरप्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने नीति लिदै अस्पतालको सुविधालाई थप प्रभावकारी र व्यवस्थित बनाइनेछ ।
१०५. सुत्केरी अवस्था र नवजात शिशुमा देखिने स्वास्थ्य समस्याको समयमै पहिचान गरी उपचार गर्न सुत्केरी जाँच कार्यक्रमलाई थप प्रभावकारी बनाउदै लगिनेछ ।
१०६. सुरक्षित मातृत्व कार्यक्रमलाई थप प्रभावकारी रुपले सञ्चालन गरी नतिजामुखी बनाउदै नवजात शिशु, आमा र बालबालिकाको पोषणस्थितिलाई विशेष जोड दिइनेछ । नगरभित्रका सरकारी कार्यालय परिसरमा सहजताको निमित्त सेवाग्राही आमाहरुलाई स्तनपान कक्ष निर्माणको लागि पहल गरिनेछ ।
१०७. कुपोषित बालबालिकाहरुको खोजी गरी उपचार तथा पोषणस्थितिमा सुधार ल्याउन विशेष कार्यक्रम सञ्चालन गरिनेछ । साथै, १८ वर्ष मुनिका एच.आई.भी. संक्रमित बालबालिकाहरुलाई पोषणस्थिति सुधार गर्न मासिक रु. ३,०००। (तीन हजार) रकम उपलब्ध गराइने छ ।
१०८. बालबालिकाको खोप कार्यक्रमलाई प्रभावकारी रुपले सञ्चालन गर्न प्रत्येक वर्ष पूर्णखोप सुनिश्चितता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१०९. स्वस्थ जीवनशैलीका लागि योग भन्ने नीति अवलम्बन गरी सन्तुलित आहार, शारीरिक व्यायाम, स्वस्थकर खानपान, योग, ध्यान र प्राणायम जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिनेछ । साथै स्तनपान गराउने आमाहरुका लागि उपप्रमुख दुग्धवर्धक जडिबुटी वितरण कार्यक्रम सञ्चालन गरिनेछ ।
११०.सरकारी, निजी, सामुदायिक अस्पताल तथा मेडिकलबाट प्रदान गर्दै आएको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन नियमन तथा अनुगमनको संस्थागत व्यवस्था मिलाईनेछ । साथै, प्राप्त सेवालाई डी एच आइ एस २ मा सम्मिलित गरिनेछ ।
१११. स्वास्थ्य संस्थाजन्य जोखिमयुक्त फोहोर व्यवस्थापन तथा निर्मलीकरणका लागि नगरभित्र सञ्चालित स्वास्थ्य संस्था, अस्पताल, मेडिकल, ल्याब आदिबाट निस्कने फोहोरको उचित व्यवस्थापन गरिनेछ ।
११२. महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्दै नियमित सुविधालाई निरन्तरता दिदै उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविकालाई पुरस्कृत गरिनेछ । सेवा अवधि पूरा गरी अवकाश हुने महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मानजनक बिदाईको व्यवस्था गरिनेछ ।
११३. एच आई भी÷एड्स, क्षयरोग, कुष्ठरोग, औलो, कालाजार, हात्तीपाईले, डेगु, स्क्रब टाइफसजस्ता सर्ने नसर्ने लगायतका रोगहरुको रोकथाम, नियन्त्रण तथा निवारणका लागि आवश्यक स्वास्थ्य कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
११४. गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्यमा विशेष जोड दिदै आवश्यक कार्यक्रम सञ्चालन गरिने छ ।
११५. सर्पदंश उपचार रेफेरल मेकानिज्म तथा प्राथमिक उपचार सम्बन्धी कार्यको लागि स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि तालिमको व्यवस्था गरिनेछ ।
११६. प्रजनन् स्वास्थ्य तथा सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न रुरल यु एस जी सेवा सबै वडा तहसम्म पु¥याइनेछ ।
११७. किशोरीहरुमा हुने रक्तअल्पता कम गर्नको लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
११८. स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति गठन गरी समितिका पदाधिकारी र स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गरिनेछ ।
११९. बुटवल–१४ सेमलार स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै त्यहाँ रहेको बर्थिङ सेन्टरलाई चौबीसै घण्टा सञ्चालन गरिनेछ । वडा नं. १३ मा सञ्चालन हुने १५ शैयाको अस्पतालमा चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गरिनेछ ।
१२०. प्रदेश सरकारसँगको समन्वय एवं सहकार्यमा “एक विद्यालय एक स्वास्थ्यकर्मी” कार्यक्रम सञ्चालन गर्न पहल गरिनेछ ।
१२१. नगरबासीले पिउने पानी स्वच्छ र स्वस्थ बनाउन गुणस्तर परीक्षण गरी आवश्यक सुधार गरिनेछ ।
१२२. विभिन्न महामारीजन्य रोगहरुको निदान, रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी र उत्कृष्ट सेवा सम्पादन गर्ने स्वास्थ्य संस्थालाई प्रोत्साहन गरिनेछ ।
१२३. औषधिको अनुचित प्रयोगलाई निरुत्साहित र नियन्त्रण गरिनेछ ।
१२४. पालिकास्तरीय द्रुत उद्धार टोली (आर. आर. टी.) र वडा स्तरीय आर. आर. टी. टीम निर्माण गरी आवश्यक तालिमको व्यवस्था गर्नुको साथै विपद् व्यवस्थापन कार्यलाई सहज बनाउन आवश्यक व्यवस्था गरिनेछ ।
१२५. लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पतालमा र निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग आवश्यक समन्वय सहकार्य गरी स्वास्थ्य परीक्षण कार्यक्रम तथा शिविरहरु सञ्चालन गरिनेछ ।
१२६. नगरप्रमुख–उपप्रमुख घरदैलो स्वास्थ्य कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ँबmष्थि ज्भबतिज ँयमिभच म्ष्नष्तबष्शिबतष्यल कार्यक्रम प्रभावकारी कार्यान्वयन गरिनेछ ।
१२७. एन्टिबायोटिक औषधिका कारण हुने मानिसमा हुने असर (ए. एम. आर.) लाई न्यूनीकरण गर्न सचेतना कार्यक्रमहरु ल्याइने छ ।
१२८. बुटवलबासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थको शुल्क हटाउन रक्तसञ्चार केन्द्रलाई अनुदान उपलब्ध गराइने छ ।
१२९. महिलाहरुको पाठेघर, स्तन क्यान्सर परीक्षण गर्न आवश्यकताअनुसार शिविर सञ्चालन गर्ने र उपचारमा सहुलियत प्रदान गरिनेछ ।
१३०. जेष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर ‘बा आमासँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन गरी घरदैलोमा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिनेछ ।
१३१. खेलकुदका लागि पूर्वाधारहरु विकास गर्नुका साथै खेलाडीहरुलाई उत्साहित र क्रियाशील बनाउने खालका विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिनेछ ।
१३२. खेलाडी उत्पादनमा जोड दिदै नगरका विद्यालयहरुका बीचमा विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता कार्यक्रम सञ्चालन गरिनेछ ।
१३३. बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रहेको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता कार्यक्रमलाई नियमित र व्यवस्थित गरिनेछ ।
१३४. विद्यालय तहमा विभिन्न खेल विधामा खेलाडीहरुको उत्पादन गर्न तथा खेलकुद शिक्षक÷प्रशिक्षकहरुको क्षमता विकास गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
१३५. नगरभित्रका विभिन्न खेल मैदानहरुको आवश्यकताअनुसार स्तरोन्नति गरिने छ ।
१३६. वडा नं.१३ को जबईमा राष्ट्रियस्तरको फुटबल खेलमैदान र बुटवल १६को डहरगाउँमा क्रिकेट रंगशाला निर्माण गर्न प्रदेश र संघ सरकारसँग पहल गरिनेछ ।
१३७. किशोर अवस्थाका युवा विद्यार्थी वर्गलाई लक्षित गरी लागू पदार्थ दुव्र्यसनीमुक्त गर्न सुधारात्मक र सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
१३८. युवा क्लब गठन, नमूना युवा संसद स्थापना र अभ्यास कार्यक्रमद्वारा युवाहरुको क्षमता विकास तथा उद्यमशीलताको विकास गरिनेछ ।
१३९. बुटवल नगरस्तरीय जी.पी कोईराला महिला भलिबल, मनमोहन स्मृति कप, मदन भण्डारी स्मृति कप, शैलजा साहना महिला भलिबल प्रतियोगिता, शहीद स्मृति कप प्रतियोगिता र कर्णेल उजिरसिंह ब्याडमिन्टनलगायतका विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिनेछ ।
१४०. अन्तरराष्ट्रिय, राष्ट्रिय र प्रदेशस्तरका खेलकुद कार्यक्रममा उत्कृष्ट स्थान हासिल गरेका खेलाडी र प्रशिक्षकलाई प्रोत्साहन गरिनेछ ।

खेलराज पाण्डेय
प्रमुख, बुटवल उपमहानगरपालिका
बुटवल, रुपन्देही ।

 

 

सम्बन्धित शिर्षक :