लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा अजयमान श्रेष्ठ नियुक्त

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा बुटवलका अजयमान श्रेष्ठलाई नियुक्त गरेको छ। बुटवलका उद्यमी श्रेष्ठलाई लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले उनलाई नियुक्त गरेको हो।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्ष नियुक्त गरेका सुर्यवहादुर भट्टराईलाई कुल प्रसाद केसी नेतृत्वको सरकारले हटाएपछि लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्ष पद रिक्त थियो।

बुटवलका रैथाने बासिन्दा ५३ वर्षीय श्रेष्ठले त्रिभुवन विश्वविद्यालय अन्तर्गत शंकरदेव क्याम्पस काठमाडौंबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनी यसअघि रुपन्देही उद्योगसंघको वरिष्ठ उपाध्यक्ष र महासचिवको रुपमा समेत काम गरेका थिए ।

लुम्बिनी बाणिज्य क्याम्पस बुटवलको पुर्व प्राध्यापक रहेका प्रतिष्ठित उद्योगी श्रेष्ठ रेडक्रस र परिवार नियोजन संघमा आजीवन सदस्य रहेका छन् भने रोटरी क्लव अफ बुटवलमा २००८–००९ मा अध्यक्ष बनेका थिए भने २०१२–१३ मा एसिस्टेन्ट गभर्नर बनेका थिए ।

लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएपछि प्रतिक्रिया दिंदै श्रेष्ठले अस्पतालको कुशल व्यवस्थापनमा आफ्नो मुख्य ध्यान रहने बताए ।

“बुटवलबासीको नाताले आफ्नो बुटवल आफै बनाउने गरी अगाडि बढ्ने मेरो अठोट छ । यसका लागि सामान्य नागरिकले उपचार गर्ने सरकारी अस्पतालको व्यवस्थापकीय पक्ष सुधार्नु जरुरी छ”–उनले भने ।

बैठकले श्रेष्ठ संगै अस्पताल बिकास समितिको रिक्त सदस्य पदमा कपिलवस्तुकी लक्ष्मी खनाल लाई नियुक्त गरेको छ।

 

सम्बन्धित शिर्षक :