नेपाल चिकित्सक संघको अध्यक्षमा डा अनिलविक्रम कार्की विजयी

अन्य पदमा क-कसले जिते ?

स्वास्थ्यसमाचार/ नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी भएका छन् । मंगलबार सकिएको मतगणनाको अन्तिम परिणामअनुसार विजयी कार्कीले ३ हजार ५ सय ३७ मत प्राप्त गरेका छन् । डा. कार्की यसअघि संघको उपाध्यक्ष रहेका थिए ।

त्यस्तै डा.कार्कीका निकटतम् प्रतिस्पर्धी पेशागत समावेशी समूहका डा. सन्तोष पौडेलले २ हजार ३ सय २३ मत प्राप्त गरे । स्वतन्त्र समूहबाट उम्मेदवार बनेका डा.शिवजीविक्रम सिलवालले २ सय ९० मत प्राप्त गरे । निर्वाचन समितिका अनुसार मतदानमा कुल ६ हजार २ सय ९१ मत खसेको थियो ।

त्यस्तै महासचिवमा डा. सञ्जीव तिवारी विजयी भएका छन् । लोकतान्त्रिक समूहका तिवारी २ हजार ९१८ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम् प्रतिस्पर्धी रहेका डा. अमृत भुसालले १ हजार ५४१ मत प्राप्त गर्दा डा। रक्षा श्रेष्ठले १ हजार ५०५ मत ल्याइन् ।

त्यसैगरी मधेस प्रदेशको उपाध्यक्षमा लोकतान्त्रिक समूहकै निरजकुमार सिंह विजयी भए। उनले ३ हजार ८१ मत प्राप्त गरे । वाग्मती प्रदेशमा ३ हजार ५५३ मत ल्याई डा.प्रकाश बुढाथोकी उपाध्यक्षमा चुनिएका छन् भने गण्डकी प्रदेशमा पनि लोकतान्त्रिक समूहले नै कब्जा जमाएको छ । लोकतान्त्रिक समूहका डा. राजन शर्माले कुल ३ हजार ३२२ मत प्राप्त गरे । सुदूरपश्चिम प्रदेशमा डा. प्रशान्त भट्ट ३ हजार ३५९ मत प्राप्त गरी उपाध्यक्ष पदमा विजयी भएका छन् ।

सदस्यहरूमा लोकतान्त्रिक समूहका डा. तेजसुसेन मल्ल, डा. सृजना विष्ट, डा. अमितरञ्जन मिश्र,डा. किशोर खत्री ,डा. युभिनकुमार यादव विजयी भएका छन् । डा. स्मृति महत पेशागत समावेशी समूहबाट विजयी भएकी एक्ली सदस्य हुन् ।

वरिष्ठ उपाध्यक्षमा डा. बद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजकमा डा. नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजकमा डा.केशरबहादुर ढकाल निर्विरोध निर्वाचित भइसकेका छन् । साथै उपाध्यक्ष तथा प्रदेश १ संयोजक डा. विपेश आचार्य, कोषाध्यक्षमा डा.प्रमोद जोशी, सह–कोषाध्यक्षमा डा. विक्रान्त ढकाल र सह–सचिवमा डा. लिजन महर्जन यसअघि नै पदाधिकारीमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

सम्बन्धित शिर्षक :