पाल्पाको पूर्वखोला गाउँपालिका प्रदेश पाँचकै पहिलो पूर्ण संस्थागत सुत्केरी घोषणा

स्वास्थ्य समाचार/प्रदेश नं ५ को पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका पूर्ण संस्थागत सुत्केुरी गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाले प्रसुतीको क्रममा आमा तथा नवजात शिशुको मृत्युदर कम गर्न पालिका भित्रका ६ वटै स्वास्थ्य संस्थामा बर्थिङ्ग सेन्टर स्थापना गरेको थियो ।

पूर्ण संस्थागत सुत्केरीका निश्चित मापदण्ड पुरा गरेको गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा भएको हो । प्रदेश नं ५ का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले एक कार्यक्रमका बिच  गाउँपालिका पूर्ण संस्थागत सुत्केुरी गाउँपालिका घोषणा गरे। मन्त्री बरालले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

मन्त्री बरालले संविधानले प्रदान गरेको स्वास्थ्यको मौलिक हक प्रदानका लागि आवश्यक लगानी गरिरहेको बताए । उनले सुरक्षित प्रसुती सेवा प्रवाहका लागि दुर्गम स्थानमा वर्थिङ्ग सेन्टर स्थापना गर्ने, बर्थिङ्ग सेन्टर भएको स्थानमा आवश्यक उपकरण पठाउने, स्वास्थ्यकर्मीहरुका लागि तालिम दिने तयारीमा प्रदेश सरकार रहेको उल्लेख गरे ।

मन्त्री बरालले भने,‘ गत वर्ष देखि नै प्रत्येक स्थानीय तहमा १५ वेडको अस्पताल सञ्चालन गर्ने, भएका स्थानमा आवश्यक स्वास्थ्यकर्मी परिचालन तथा उपकरण उपलब्ध गराउन प्रयत्न गरिरहेका वताए।’ उनले पछिल्लो समय स्थानीय तहहरुले गरेको प्रयासले संघीयताले सार्थक रुप प्राप्त गरेको बताए ।

प्रदेश सांसद नारायण प्रसाद आचार्यले अधिकार प्राप्तिको लामो समयको संघर्षबाट प्राप्त उपलब्धीको कार्यान्वयनको क्रममा पूर्वखोलाले चरणवद्ध रुपमा बढाएको कार्य प्रशंसनिय रहेको बताए । उनले संविधानले प्रदान गरेको अधिकारको प्रयोग गर्दै राम्रा कामको थालनी गर्न कसैले नरोक्ने धारणा व्यक्त गरे ।

अर्को प्रदेश सांसद युवराज खनालले प्रदेश सरकार सामाजिक रुपान्तरण संगै पूर्वाधार निर्माणमा लागेको बताए । जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले पूर्वखोला गाउँपालिकाले स्वास्थ्य र शिक्षामा चालेको रचनात्मक कार्यको प्रशंसा गर्दै यसको अन्य पालिकाले पनि अनुसरण गर्नु आवश्यक रहेकोमा जोड दिए ।

गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले वर्थिङ्ग सेन्टरमा स्वास्थ्यकर्मी थप तथा वर्थिङ्ग सेन्टर स्थापना, सचेतना तथा प्रोत्साहन कार्यक्रम सञ्चालन संगै पूर्ण संस्थागत सुत्केरी घोषणा सम्भव भएको बताए ।स्वास्थ्य शाखा संयोजक श्रीराज आचार्यले गत आर्थिक वर्षमा ३ सय १० मध्ये १ सय ६९ जना पालिकाकै स्वास्थ्य संस्थामा र १ सय ४१ जना अन्य स्वास्थ्य संस्थामा सुत्केरी भएको बताए । उपाध्यक्ष भागीरथी भट्टराईको स्वागत,स्वास्थ्य शाखा प्रमुख मोहन ढकालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

सम्बन्धित शिर्षक :