तिलोत्तमाका ज्येष्ठ नागरिकलाई घरमै निःशुल्क उपचार

स्वास्थ्यसमाचार/ स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकको घर दैलोमै पुगेर निःशुल्क उपचार गराउन तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाले नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन शुरु गरेको छ।नगरभरिका १७ वटै वडामा संचालन गरिने सो कार्यक्रमको आज तिलोत्तमा–६ स्थित पश्चिम पहुनीमा शुरुवात भएको छ।

नागरिकको सबैभन्दा ठुलो कुरा भनेको उनीहरुको स्वास्थ्य भएकाले अस्पताल, स्वास्थ्य चौकी जान नसक्ने र सहारा नभएका ज्येष्ठ नागरिकलाई घरकै आगनमा डाक्टर बोलाएर निशुल्क चेक जांच उपचार र परामर्श दिने कार्यको शुरुवात गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो। बृद्धबृद्धाहरु नगर र समाजको खम्बा भएकाले उनीहरुको स्वास्थ्यको ख्याल परिवारसंगै समाजका अगुवाहरुले पनि गर्नुपर्ने बताउदै नगरप्रमुख खाणले हरेक नागरिकको स्वास्थ्यका बिषयमा नगरपालिका चनाखो रहेको बताउनुभयो।

सो कार्यक्रममा बोल्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले अहिले तिलोत्तमा नगरका सबै वडामा सुविधाजनक आधारभूत स्वास्थ्य केन्द्र तथा केहि प्रमुख स्वास्थ्य केन्द्रमा डाक्टर सहितको स्वास्थ्य सेवा उपलब्ध गराइएको हुनाले सो सेवा लिन नगरबासीहरुमा आग्रह गर्नुभयो। बिभिन्न स्वास्थ्य सेवामा थप सुबिधा दिएर नागरिकको स्वास्थ्यका बिषयमा गम्भीर रहेको भन्दै उहाँले हरेक नागरिक स्वस्थ हुनु आजको आवश्यकता भएको समेत बताउनुभयो।

सो कार्यक्रममा बोल्दै तिलोत्तमा–६ का वडाध्यक्ष गणेश पाठकले वडा र नगर भित्र रहेका ज्येष्ठ नागरिकका घरघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिने बताउनुभयो। उहाले, ‘ज्येष्ठ नागरिकलाई घरदैलोमै सेवा पु¥याउनका लागि यस्तो खालको कार्यक्रम सञ्चालनमा ल्याइएको र सो सेवामा सबै वडा बासीहरुले लाभ लिन अनुरोध समेत गर्नुभयो।

ज्येष्ठ नागरिकहरु विभिन्न मौषमी असरका कारण विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुने भएकाले उनीहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न नगर अग्रसर भएको हो।’वडाअध्यक्ष पाठकले भन्नु भयो। कार्यक्रम अन्तर्गत नगरपालिकाको सबै वार्डमा डाक्टर सहित, स्वास्थ्य अधिकृत, हेल्थ असिस्टेन्ट अथवा स्टाफ नर्स राखेर ज्येष्ठ नागरिकहरूको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिनेछ। कार्यक्रम अन्तर्गत आवश्यक भएका बिरामीलाई सोही ठाउँबाट ज्येष्ठ नागरिकका लागि औषधि वितरण गरिने स्वास्थ्य शाखा प्रमुख ध्रुवराज घिमिरेले बताउनुभयो।

आनन्दबन स्वास्थ्य चौकीका इन्चार्ज ज्ञान प्रसाद पौडेलको स्वागतबाट शुरु भएको कार्यक्रममा स्वास्थ्य अधिकृत राम प्रसाद ढकाल, लक्ष्मी आचार्य, हुमनाथ पाण्डे लगायतका डाक्टर तथा नर्स एबम स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो।

सम्बन्धित शिर्षक :