कात्तिकदेखि सामुदायीक बिद्यालयमा नि:शुल्क स्यानिटरी प्याड

स्वास्थ्यसमाचार /सरकारले आउँदो १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि स्यानिटरी प्याड निशुल्क रुपमा उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष ०७६ ७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो ।प्याडको गुणस्तर तथा मापदण्ड भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तय गरे अनुसार हुने शिक्षा मन्त्रालयले जनाएको छ ।

विद्यालय नै स्थानीय तहमा गईसकेको हुँदा आफ्ना क्षेत्रभित्रका विद्यालयमा स्यानिटरी प्याड उपलब्ध भए–नभएको, उपलब्ध प्याड निर्धारित गुणस्तरको भए–नभएको, दुरुपयोग भए–नभएको र व्यवस्थापन उचित तरिकाले भए–नभएकोलगायत विषयमा सूक्ष्म रूपमा अनुगमन गरी परिपालना गराउने मुख्य जिम्मा स्थानीय तहलाई दिइएको छ ।

स्यानिटरी प्याड वितरणका लागि आवश्यक कार्यविधि बनाउने, नीतिगत मार्गदर्शन गर्ने र केन्द्रीय तहमा नीति कार्यान्वयनको नेतृत्व शिक्षा मन्त्रालयले गर्नेछ ।प्रत्येक जिल्लाभित्रका स्थानीय तहसँग समन्वय गर्ने तथा स्यानिटरी प्याड प्रयोग गर्ने छात्राहरूको तथ्यांक शिक्षा विकास तथा समन्वय एकाइले संकलन गर्नेछ ।

स्यानिटरी प्याड आवश्यक पर्ने छात्राहरूको लगत राख्ने, प्रयोग भएका प्याडको उचित व्यवस्थापन गर्ने र सोको प्रतिवेदन सम्बन्धित स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइमा गर्ने जिम्मा भने विद्यालयको हुनेछ ।

सम्बन्धित शिर्षक :