गोरखा जिल्ला अस्पतालमा ड्युटीमा रहेका डाक्टर कुटिए

स्वास्थ्यसमाचार/गोरखा जिल्ला अस्पतालमा ड्युटीका डाक्टरमाथि कुटपिट भएको छ । अस्पतालका डा.अविनाश पराजुलीमाथि कुटपिट भएको हो ।

बिरामी महिलाका पति र अन्य दुई जनाले अस्पतालको कोठामा पसेर डा. पराजुलीमाथि लात्ती र मुक्का प्रहार गरेका थिए । अस्पतालका डाक्टर कुटपिटपछि कानुनी कारबाही गरियोस् भन्दै कुटपिट गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको अस्पतालका सूचना अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

गण्डकी स्वास्थ्य निर्देशनालयले अस्पताल ओपिडीमा भएको घटनाप्रति गभ्भीर ध्यानाकर्षण भएको जनाएको छ । निर्देशनालयले डाक्टरमाथि कुटपिट र दुव्र्यवहार गर्नेमाथि कडाभन्दा कडा कारबाहीको माग गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लीलाराज लामिछानेले अस्पतालमा कुटपिट भएको र चिकित्सकमाथि कुटपिट गर्नेको पहिचान भइसकेकाले कानुनी प्रक्रिया अघि बढ्ने बताए ।

यसरी भयो घटना ?

अस्पतालमा थाइराइडसम्बन्धी समस्या भएकी गोरखा बजारकी एक महिला रिपोर्ट देखाउन पुगेकी थिइन् । उनले पहिलेदेखि नै थाइराइडको औषधी खाइरहेकी थिइन् । थाइराइड रिपोर्ट आउन अन्य धेरै जाँचका तुलनामा अलि बढी समय लाग्छ । करिब साढे ४ बजेतिर डा. अविनाशले रिपोर्ट चेक गरे । अस्पतालका सूचना अधिकारी कृष्णप्रसाद ढकालका अनुसार चेकजाँचका क्रममा डा. अविनाशले त्यसअघिका रिपोर्ट लिएर आउन भने ।

त्यतिबेलाको रिपोर्ट र त्यस अघिको रिपोर्ट भिडाएर हेर्दा सामान्य नै देखियो । डा. अविनाशले अहिले अवस्था सामान्य रहेको र आवश्यक परे कल्सट्यान्ट फिजिसियनले औषधी तथा मात्रामा परिवर्तन गर्न सक्ने भन्दै पछि कन्सल्ट्यान्ट चिकित्सकलाई भेट्न सुझाए ।

बिरामीले डा. अविनाशलाई बिरामी चेक गर्ने डाक्टर तपाईं होइन भन्ने प्रश्नसमेत गरे । थाइराइड चेक गर्न लगाएकोप्रति समेत बिरामीको आक्रोश थियो । ब्लड चेक गर्न किन लगाएको भनेर पनि बिरामीले प्रश्न गरिन् ।

डा. अविनाशले आफू मेडिकल अफिसर भएको र कन्सल्ट्यान्ट फिजिसियन नभएको समेत बताए । सम्झाइ बुझाइ गरेपछि अस्पतालको चिकित्सक कक्षबाट ती महिला बाहिरिइन् । त्यसलगत्तै उनका पति र अन्य २ जना आक्रोशित हुँदै अस्पताल छिरेर चिकित्सक डा. पराजुलीमाथि कुटपिट गरे ।

सम्बन्धित शिर्षक :