सत्यमोहन जोशीको शरीर ,विद्यार्थीलाई अध्ययनका लागि राखिने

स्वास्थ्यसमाचार/  संस्कृतिविद् सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान निधन भएको थियो ।

यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसक्नुभएका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो ।आज किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो ।

शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ। शवमा नसाबाट केमिकल राखेपछि अन्तिम श्रद्धाञ्जलीका लागि महानगरपरिसरमा राखिने निर्णय भएको बताइएको छ ।

शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा निधन भएको हो । आइतबार बिहान ७ बजेर ९ मिनेटमा उहाँको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । करिव एक महिनाअघि जोशीलाई डेंगुको पनि संक्रमण भएको थियो । डेंगु संक्रमणपछि जोशीलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमणका साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो ।

उपचारकै क्रममा शरीरमा अक्सिजनको कमी भएर जोशीलाई सघन उपचार कक्षमा राखेर उपचार जारी राखिएको थियो । अस्पताल स्रोतका अनुसार जोशीलाई पुरानो रोगका कारण औषधिले समेत शरीरमा राम्रो रेस्पोन्स गरेको थिएन ।

उहाँमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो ।

सम्बन्धित शिर्षक :