बुटवल उपमहानगरद्वारा बसपार्कमा स्वास्थ्य सहायता कक्ष स्थापना

स्वास्थ्यसमाचार/  बुटवल उपमहानगरपालिकाले चाडवाडलाई ध्यानमा राखेर बुटवलस्थित नयाँ बसपार्कमा सहायता कक्ष स्थापना गरेको छ ।

चाडवाडको समयमा यात्रुहरु अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्यसम्बन्धि समस्या हुनसक्ने भएकाले बिहीबारदेखि बसपार्कमा सहायता कक्ष स्थापना गरेको हो ।

सहायता कक्षबाट यात्रुहरुले स्वास्थ्य चेकजाँच, परामर्श, केही अत्यावश्यक औषधि, मास्कजस्ता सुविधा पाउने शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयो । उहाँका अनुसार बसपार्कमा बुटवल उपमहानगरपालिकाले स्वास्थ्य सहायता, यात्रु सहायता र सरसफाईसम्बन्धि युनिट परिचालन गरेको छ ।

‘हामीले बसपार्कमा आउने यात्रुको स्वास्थ्य परीक्षण, यात्रुलाई परेका समस्या समाधान र बसपार्कभित्रको सरसफाइ गर्ने कामको शुरुवात गरेका छौं, उहाँले भन्नुभयो–यी तीनवटा युनिट चाडपर्वभर निरन्तर बसपार्कमा रहनेछन् र आवश्यक समन्वय, सहकार्यको काम गर्नेछन् ।’

उहाँले चाडवाडमा यात्रुहरुको भीडभाड बढी हुने र बसपार्कभित्र फोहोर समेत बढ्ने भएकाले नियमित रुपमा औषधि छर्ने कामलाई पनि निरन्तर अघि बढाएको बताउनुभयो ।

कोभिड १९, डेंगु र अन्य स्वासप्रस्वासबाट सर्ने रोगलाई ध्यानमा राखेर मास्क लगाउनका लागि प्रेरित गर्ने र स्वास्थ्य सचेतना फैलाउने काम गर्नका लागि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सहायता कक्षमा कर्मचारी खटिने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो ।
उहाँले बसपार्कमा आएर अलपत्र परेकाको उद्धार तथा घरसम्म पुग्न बेखर्ची भएकाहरुलाई अवस्था हेरेर सहजीकरण र सहायता गर्ने बताउनुभयो ।

 

सम्बन्धित शिर्षक :