बेलायतमा २ हजार नर्स पठाउने तयारी, आगामी साता श्रम सम्झौता हुने

स्वास्थ्यसमाचार/ बेलायतमा नेपाली नर्सलाई रोजगारी दिने विषयमा दुवै मुलुकबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ। समझदारीको मस्यौदा दुवै मुलुकका प्रतिनिधिसम्मिलित समितिले तयार पारिसकेको बताइएको छ।

बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई श्रम समझदारीपत्रको मस्यौदा तयार भएको हो।

पहिलो चरणमा बेलायतमा २ हजार नर्स पठाउने तयारी रहेको सरकारले जनाएको छ। बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनुपर्ने छैन।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शुक्रबार शिष्टाचार भेट गरी श्रम समझदारीको तयारीबारे छलफल गरेकी थिइन्। श्रम समझदारीपत्रको तयारीका लागि दुवै देशका तर्फबाट सहभागी प्रतिनिधिको संयुक्त प्रयासबाट सुरक्षा क्षेत्रभन्दा बाहिर पहिलोपटक नेपालीहरुले बेलायतमा रोजगारीको अवसर प्राप्त गर्न लागेको भन्दै मन्त्री श्रेष्ठले मस्यौदा समितिका सदस्यहरुलाई धन्यवाद दिएका थिए।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगार विभागको क्षमता अभिवृद्धि, छात्रवृत्तिको अवसरका साथै नर्सिङ कलेजहरुको क्षमता अभिवृद्धिमा बेलायत सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए।

उनले गण्डकी प्रदेशको तनहुँ जिल्लामा कम्तीमा १ सय बेडको नर्सिङ कलेजसहितको अस्पताल निर्माण गर्ने आफ्नो योजना रहेको बताउँदै बेलायत सरकारबाट सहयोगको अपेक्षा गरेका थिए। नेपालको स्वास्थ्य शिक्षाको गुणस्तर विश्वस्तरको रहेको चर्चा गर्दै उनले नर्सबाहेक डाक्टर, फार्मेसिष्ट, ल्याब टेक्निसियनहरुलाई पनि बेलायतमा रोजगारी प्राप्त हुने विश्वास व्यक्त गरेका थिए।

सम्बन्धित शिर्षक :