सिद्धार्थनगरका १३ वटै वडामा मास्क वितरण गर्दै राष्ट्रिय युवा संघ

स्वास्थ्यसमाचार/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल, सिद्धार्थनगरले नगरका १३ वटै वडामा मास्क, सेनिटाइजर र ग्लोब्स वितरण गर्ने भएको छ । युवा संघ सिद्धार्थनगर नगर कमिटीको शुक्रबार भैरहवामा बसेको दोस्रो पूर्ण बैठकले भोलि (शनिबार) स्वास्थ्य सामग्री वितरण गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ संक्रमणको रोकथाम तथा न्यूनीकरणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका अन्तर्गतका १३ वटै वडामा मास्क, सेनिटाइजर र ग्लोब्स वितरण गरिने संघका अध्यक्ष कृष्ण मल्ल ठकुरीले बताए । उनले भने, ‘राष्ट्रिय युवा संघ नेपाल सिद्धार्थनगर कमिटीले सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको छ, अहिले कोभिड–१९ को संक्रमण बढिरहेको परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री वितरण गर्दैछौं ।’

बैठकले विशाल श्रेष्ठ र लेखा पौडेललाई संघको नगर कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको नगर उपाध्यक्ष प्रविन आचार्यले बताए । त्यस्तै बैठकले रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम समेत गर्ने र उक्त कार्यक्रमको मिति, समय र स्थान पछि तोक्ने निर्णय गरेको नगर सचिव रोशन बहादुर थापाले बताए ।

बैठकमा राष्ट्रिय युवा संघ नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य (केन्द्रीय सदस्य) विजय अधिकारीलाई सम्मान गरिएको थियो । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि केन्द्रीय सदस्य अधिकारीले युवा संघलाई अब सशक्त रुपमा अगाडी बढाउनुपर्ने बताए । उनले विभिन्न चुनौतीहरुलाई चिर्दै नगरलाई एमालेमय बनाउन लाग्नुपर्नेमा जोड दिए ।

त्यस्तै राष्ट्रिय युवा संघ सिद्धार्थनगरका इञ्चार्ज नर्जुन गुरुङले बोल्ने भन्दा पनि काम गरेर देखाउनेमा राष्ट्रिय युवा संघ सिद्धार्थनगरले सावित गरेको बताए । संघका सिद्धार्थनगर–३ का सचिव विशाल श्रेष्ठले बेरोजगारीको समस्यालाई समाधान गर्नुपर्ने बताए ।

राष्ट्रिय युवा संघ सिद्धार्थनगरका उपाध्यक्ष प्रविन आचार्यको अध्यक्षता तथा सचिव रोशन बहादुर थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले रुपन्देहीका पूर्व जिल्ला सदस्य तथा पूर्व क्षेत्रीय इञ्चार्ज मिलन दर्लामी, पूर्व क्षेत्रीय सदस्य अमन खाती लगायतको आतिथ्यता रहेको थियो ।

 

सम्बन्धित शिर्षक :