ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ :डब्लूएचओ

एजेन्सी /विश्व स्वास्थ्य संगठन (डब्लुएचओ )ले युरोपबाट कोरोना महामारीको अन्त हुनसक्ने संकेत गरेको छ। तर, ओमिक्रोन भेरियन्टको कारणले चलिरहेको कोभिड(१९ लहर अहिले तीव्र गतिमा विश्वका अधिकांश ठाउँमा फैलिरहेको छ। कोरोनाको यो खतरनाक भेरियन्टले महादेशको करिब ६० प्रतिशत जनसङ्ख्यालाई सङ्क्रमित गर्ने बताइएको छ।

डब्लुएचओ युरोपका निर्देशक हान्स क्लुगेले एएफपी समाचार एजेन्सीलाई भने, ‘कोरोनाको ओमिक्रोन भेरियन्टका साथ महामारी नयाँ चरणमा प्रवेश गरेको छ। जसले मार्चसम्म युरोपमा ६० प्रतिशत मानिसहरूलाई संक्रमित गर्न सक्छ र योसँगै अन्ततः महामारीको अन्त्य पनि हुनसक्छ।’

‘यो राम्रो कुरा हो कि, यो महामारी अन्त्यतिर गइरहेको छ,’ उनले भने। तर, योसँगै उनले भाइरसको उत्परिवर्तन हुने क्षमताका कारण आवश्यक सावधानी अपनाउन पनि सुझाव दिए।

खोप लगाएकाहरुमा ओमिक्रोन भेरियन्टले डेल्टाभन्दा कम गम्भीर समस्या देखाएको अध्ययनबाट पनि पुष्टि भएको छ। यसले के पनि देखाएको छ कि कोरोना एक घातक महामारीबाट मौसमी फ्लुमा परिणत भइरहेको छ। डब्लुएचओ अधिकारीको टिप्पणीले युरोपको लागि केही आशा जगाएको छ। जुन क्षेत्र अहिले ओमिक्रोनको चपेटामा छ।

वर्षको अन्त्यमा फेरि फर्कन सक्छ कोरोना

‘एक पटक युरोपमा केसहरूको हालको वृद्धि कम भएपछि केही महिनाका लागि यो एक वैश्विक प्रतिरक्षा हुनेछ। किनकी यसबीच धेरैजना कोरोनाबाट संक्रमित भइसकेका छन् र धेरैले खोप पनि लगाइसकेका छन्। जसले उनीहरुमा प्रतिरक्षा प्रणाली विकशित गरेको छ’, क्लुगेले भने, ‘तर, कोभिड-१९ वर्षको अन्त्यमा अझै पुनरागमन गर्न सक्छ। यद्यपि, यो महामारीको रुपमा नहुन सक्छ।’एजेन्सी

सम्बन्धित शिर्षक :