बुटबलको औद्योगिक प्रदर्शनीमा निःशुल्क दन्त शिविर र रक्तदान हुने

स्वास्थ्यसमाचार/ आगामी पुस ८ गतेदेखि बुटवलको देवीनगरमा सञ्चालन हुने चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलामा निःशुल्क दन्त शिविर र रक्तदान गरिने भएको छ ।

उद्योग ब्यापार संघ बुटवलको आयोजनामा पुस २० गतेसम्म मेला हुन लागेको हो । मेलामा आउने दर्शकलाई निःशुल्क सेवा दिने उद्देश्यले दन्त शिविर र बुटवलमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको मेलाका प्रवक्ता विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

यस्तै मेलामा सांस्कृतिक कार्यक्रम अन्तर्गत डान्स आइडल, मम्मी डान्स, विद्यालयस्तरीय नृत्य र दोहोरी गीत प्रतियोगिता सञ्चालन हुने सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले जानकारी दिए ।

मेलामा युवा पुस्तालाई आकर्षित गर्न १५ वटा सेल्फी जोन र शंखघण्टसहितका पूजारी राखेर ११ थरि देवी–देवताका मन्दिर बनाइने संघका प्रचारप्रसार समिति संयोजक जेनस पन्थीले बताए ।

यसैबीच मेलाका लागि स्टलहरु र सचिवालय निर्माणको काम तीब्ररुपमा अघि बढेको र डेढ दर्जन उपसमितिले आआफ्नो जिम्मेवारीका काम अघि बढाएका मेला सचिवालय संयोजक संघका महासचिव पदम जीसीले बताए । बुटवलमा क्रियाशील चार वटा व्यवासयिक संस्था मध्ये उद्योग ब्यापार संघ बुटवलले पहिलोपटक पुसको मेला आयोजना गर्न लागेको हो ।

सम्बन्धित शिर्षक :