तिलोत्तमाका ५ हजार ज्येष्ठ नागरिकको घरमैं स्वास्थ्य परीक्षण

स्वास्थ्यसमाचार/  तिलोत्तमा नगरपालिकामा ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ कार्यक्रम सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिकलाई आधारभूत स्तरको स्वास्थ्य सेवा सहज रुपमा पुर्याउने नीतिअनुसार नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रमअनुसार हरेक वडामा ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुको घर–घरमैं पुगेर स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गर्नुको साथैं निःशुल्क औषधि समेत प्रदान गरेका छन् ।१७ वडामैं सरकारी स्वास्थ्य संस्था पुर्याएको तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर यो कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख बासुदेव घिमिरेले वताए ।

कार्यक्रमअनुसार हरेक वडामा दुई–दुई स्वास्थ्यकर्मीहरु नागरिकको घरदैलोमैं पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, परामर्श सेवा प्रदान गरेका छन् । सामान्य स्वास्थ्य समस्या भएकाहरुलाई निःशुल्क औषधी दिइने र स्वास्थ्य समस्या जटिलउन्मुख भए आवश्यकताअनुसार अस्पताल पठाइएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।

रोगको समयमैं पहिचान हुँदा त्यसको उपचार सहज हुने भएकोले यो कार्यक्रम प्रभावकारी हुने नगरपालिको अपेक्षा छ । नगरपालिकाले चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा बजेटको व्यवस्था गरेर यो कार्यक्रम सञ्चालन गरेको हो ।

नगरपालिकाले विभिन्न ११ थरी औषधी र मधुमेह परीक्षणको समेत निःशुल्क व्यवस्था गरेको छ । प्रयोगशाला परीक्षण आवश्यक भए ज्येष्ठ नागरिकलाई प्रयोगशालामा समेत पठाइने जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले वताए ।तिलोत्तममा ७० वर्षमाथि झण्डै चार हजार आठ सय ज्येष्ठ नागरिक रहेको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्यकर्मीहरु घरमैं आएर आफ्नो स्वास्थ्य परीक्षण गर्दा ज्येष्ठ नागरिक दंग छन् ।

सम्बन्धित शिर्षक :