शिवराजमा बृहत्तर यौनिकता शिक्षासम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

स्वास्थ्यसमाचार/ कपिलवस्तुको शिवराज नगरपालिकामा बृहत्तर यौनिकता शिक्षासम्बन्धी स्थानीय सरकार र साझोदार सम्मिलित कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।संयुक्त राष्टसंघीय जनसंख्या कोषको आर्थिक तथा प्राविधिक सहयोग सिसो नेपाल र शिवराज नगरपालिकाको आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रममा शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले स्वास्थ्य र शिक्षा महत्त्वपूर्ण विषय भएकाले स्थानीय तहबाटै प्रयास थालिनुपर्नेमा जोड दिए ।बृहत्तर यौनिकता शिक्षा अहिलेको समय महत्त्वपूर्ण विषय भएको हुँदा सबै विद्यालयमा यसलाई प्राथमिकताका साथ पढाउनुपर्नेमा उनले जोड दिए ।

शिवराजले बृहत्तर यौनिक शिक्षासम्बन्धी नगरभित्र रहेका विद्यालयका लागि सूचना केन्द्र स्थापना गर्ने, यौन शिक्षासम्बन्धी विषयवस्तु, स्वास्थ्य तथा जनसंख्या शिक्षामा समावेश गर्ने, स्वास्थ्य, शिक्षा विषयलाई ऐच्छिक विषयको रूपमा अध्यापन गर्न विद्यालयलाई अनुरोध गर्ने कार्ययोजना तयार गरेको छ ।

कार्यक्रममा सिसो नेपालका कार्यकारी निर्देशक खुमानन्द सुवेदीले बृहत्तर यौनिक शिक्षासम्बन्धी सहजीकरण गर्दै यौन शिक्षाबारे किशोर–किशोरीलाई जानकारी दिनुपर्ने बताए । उनले बालबालिकाले उमेर नपुगी गर्ने विवाह र सानै उमेरमा हुने गर्भधारणलाई न्यूनीकरण गर्न सहयोग गर्ने उद्देश्यले अभिमुखीकरण सञ्चालन गरिएको जानारी दिए ।

कार्यक्रममा शिवराज नगरपालिका सामाजिक विकास समिति संयोजक चन्द्रबहादुर गहतराज, प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याल, स्वास्थ शाखा प्रमुख चुडामणि भट्टराई, वडाध्यक्षहरू, कृष्णनगर नगरकालिकाका शिक्षा शाखा प्रमुख बलराम पन्थी, विजयनगरका सामाजिक सुरक्षा महिला बालबालिका स्वास्थ्य शाखा प्रमुख हरिहर बेल्वासेलगायतको सहभागिता थियो ।

सम्बन्धित शिर्षक :