गुल्मी जिल्ला अस्पतालको अत्याधुनिक भवन निर्माण सुरु

स्वास्थ्यसमाचार /गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माणको काम सुरु भएको छ। तम्घासस्थित अस्पताल निर्माणको लागि स्वच्छन्द–बालियाँ जे/भी मकवानपुरले २५ करोड ९५ लाख ६४ हजार २०३ रुपैयाँमा सम्झौता गरेको छ। सम्झौता अनुसार दुई वर्षभित्र अस्पताल निर्माणको काम सम्पन्न गर्नुपर्नेछ।

अस्पताल निर्माणको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत् आयोजना कार्यान्वय हुनेछ। कुनै अवरोध नभए सम्झौता अगावै अस्पताल निर्माणको काम सम्पन्न गर्ने निर्माण कम्पनीका साइड इन्चार्ज विष्णु घिमिरेले बताए। उनले एक महिनादेखि फाउण्डेशन निर्माणको काम भइरहेको जानकारी दिए। गुल्मी अस्पताल स्थापना भएको करिब चार दशकदेखि जीर्ण र साँघुरो संरचनाबाट सेवा प्रवाह गर्न बाध्य छ। ०७१ सालमा ५० शैयामा स्तरवृद्धि भएको हो। तर, भौतिक संरचनाको अभावमा पूर्ण कार्यान्वयन भएको थिएन।

अस्पतालमा गुल्मीसहित अर्घाखाँची र बागलुङबाट समेत स्वास्थ्य परीक्षण र उपचार गराउन सेवाग्राही आउँछन्। भौतिक संरचना नहुँदा एकै कोठामा दुई÷तीन जना डाक्टरहरु बसेर सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको छ। अस्पतालमा प्राप्त औषधी र उपकरण व्यवस्थापन गर्न मुस्किल परेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए। ‘साँघुरो एउटा कोठामा डाक्टर बस्ने की बिरामी निकै समस्याका बीच काम गरिरहेका छौं। अहिले सेवाग्राही र सेवाप्रदायक दुबैलाई अफ्ठेरो परेको छ,’ उनले भने, ‘सम्झौताअवधिमै अस्पतालको नयाँ संरचना निर्माण भए सबैलाई ठूलो राहत हुनेछ।’

नयाँ भवनमा आइसियू, सर्जिकल, मेडिकल र बाल उपचार कक्षको छुट्टाछुट्टै व्यवस्था हुनेछ। भवन निर्माणपश्चात प्रसुती, नाक, कान, घाँटी र हाडजोर्नीलगायतका रोगको विशेषज्ञसहितको सेवा विस्तार हुनेछ।

अस्पतालको नयाँ संरचना र सेवा विस्तारले उपचारकै कारण बसाई सर्ने र जटिल समस्या आउने बित्तिकै पाल्पा, वुटवल र काठमाडौं दौडनुपर्ने बाध्यता केही हदसम्म समाधान हुने स्थानीयको आशा छ।नयाँपत्रिकाबाट

सम्बन्धित शिर्षक :