जनकपुर प्रादेशिक अस्पतालका अहेव देवेन्द्र ठाकुर अस्पतालभित्रै कुटिए

स्वास्थ्यसमाचार/  भदौ ११ गते दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्टेन्ट डा विनोद सिंह माथि केही युवा समूहले कालोमोसो दलेर भागे। त्यसको विरोधमा अस्पतालका स्वास्थ्यकर्मीहरुले आन्दोलन पनि गरे। यो घटना भएको एक साता बित्न नपाउँदै जनकपुर प्रादेशिक अस्पतालका एक स्वास्थ्यकर्मी माथि कुटपिट भएको छ। बिहीबार दिउँसो साढे तीन बजे केही अज्ञात समूहले अहेव देवेन्द्र ठाकुर माथि कुटपिट गरेका हुन्।

अपरिचित समूहले अस्पतालमा कार्यरत अहेब देवेन्द्रकुमार ठाकुरलाई कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद यादवले वताए ।दिउँसो साढे तीन बजेतिर अस्पतालमा काम गरिरहेका ठाकुरलाई बाहिर बोलाएर ग्राउण्डमा कुटपिट गरिएको थियो ।डा यादवकाअनुसार सिसिटीभी फुटेजमा हेर्दा अनुहार नचिनिने ४/५ जना व्यक्तिको समूहले ठाकुरमाथि कुटपिट गरेको देखिन्छ । कुटपिटबाट ठाकुरलाई चोटपटक लागेको उनले बताए । तर, कुटपिटमा परेका ठाकुरले आफू अस्पतालमै परिसरमै कुटपिटमा परेको भनेर प्रशासनलाई कुनै जानकारी दिएका छैनन् ।

तापनि, अस्पताल प्रशासनले कुटपिट गर्नेको पहिचान गर्न र आवश्यक कारवाहीका लागि प्रहरीलाई जानकारी दिइसकेको डा यादवले बताए । सीसी क्यामरा फुटेजमा कुटपिट गर्नेहरुको अनुहार चिनिदैन्, हामीले प्रहरीलाई भनेका छौं,’ उनले भने, ‘अस्पतालभित्रै आएर यस्ता हुलदंगा र कुटपिटका घटनाहरु निकै दुःखद् छन् ।’ उनले स्वास्थ्यकर्मी र चिकित्सकहरुको सुरक्षाका लागि नयाँ कानुन पनि लागु भएकाले यो घटनामा त्यो कानुन पनि आकर्षित हुने बताए ।

कुटपिटका व्यक्तिगत कारण हुन सक्ने बताउँदैं मेसु डा। यादवले बिरामीका कारण भने उनीमाथि कुटपिट नभएको बताए । यसअघि पनि अस्पतालभित्रै एक जना अस्पतालका चालकलाई कुटपिट गरिएको थियो ।

सम्बन्धित शिर्षक :