स्वास्थ्य मन्त्रालय र डब्लूएचओ टोली रुपन्देहीमा

महामारीका नयाँ लहरको पूर्वतयारीमा केन्द्रित हुन आग्रह पालिकास्तरमा भएका कामको प्रशंसा

स्वास्थ्यसमाचार/ स्थानीय तहले गरेका महामारीविरुद्धका काम र जनस्वास्थ्य सम्बन्धित विषयमा जानकारी लिन संघीय स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको विशेष टोली रुपन्देहीमा आएको छ ।

यसक्षेत्रका पालिकाहरुले गरेको महामारीविरुद्धका कामको जानकारी लिने र अबका कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विशेष छलफल गर्न उक्त टोली यहाँ आएको हो । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ, महानिर्देशक र विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुखसहितको विशेष टोलीले रुपन्देहीको बुटवल उपमहानरपालिका र तिलोत्तमा नगरपालिकामा भइरहेका कामका बारेमा जानकारी लिएको छ ।

उक्त टोलीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले यहाँ भइरहेका कामका बारेमा जानकारी गराउनुका साथै संघीय सरकार मातहतबाट हुने सहकार्य र सहयोगका बारेमा पनि सुझाव दिएका थिए । उनले खोपको प्रवन्ध भएपनि त्यसलाई पालिका स्तरमा प्रयाप्त मात्रामा नपठाउँदा खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सकस भइरहेको भन्दै ध्यानाकर्षण पनि गराए । बुटवलमा महामारीविरुद्ध भएका काम र स्वास्थ्य सरसफाई सम्बन्धित कामको विवरण उक्त टोलीसमक्ष प्रस्तुत गरिएको थियो ।

उक्त टोलीमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दिपेन्द्र रमण सिंह र विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेश सम्भाजिराव पाण्डव सहभागी थिए । यस्तै उक्त टोलीमा डाक्टर दिपेन्द्र गौतम, मात्रीका शर्मा दाहाल तथा छिरिङ डोलर गुरुङ र सुधन ज्ञवालीलगायत सहभागी थिए ।

उक्त टोलीले बुटवलमा व्यवस्थित र प्रभावकारी काम भएको भन्दै प्रशंसा गरेको थियो । विशेष टोलीसंगको छलफलमा बुटवलका प्रमुख सुवेदीसहित उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, महाशाखा प्रमुख मित्रमणी खनाल, स्वास्थ्य समितिका संयोजक सीतादेवी थापा र जनस्वास्थ्य अधिकृत उमादेवीथापालगायत सहभागी थिए ।

बुटवलले तेस्रो लहरको जोखिमलाई मध्येनजर गर्दै पूर्वतयारीका कामलाई प्राथमिकता दिएको, बालरोग विशेषज्ञहरुसंग विशेष साक्षत्कार गरेको, स्वास्थ्य संस्थाहरुमा बेड, अक्सिजन, औषधि, जनशक्तिलगायतलाई तम्तयारीमा राखेको जानकारी गराइएको थियो । बुटवलले हालै यहाँका बालरोग विशेषज्ञहरुसंग विशेष छलफल गर्नुका साथै विशेषज्ञहरुकै सुझावमा सिद्धार्थ बाल तथा महिला अस्पतालको सेवा विस्तारका काम अगाडि बढाएको छ ।

तेस्रो लहरको जोखिम छ, सचेतना बढाउनुस्

संघीय सरकारको स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को विशेषज्ञहरुसहितको टोलीले महामारीका नयाँ नयाँ लहर र भाइरसको जोखिम कायमै रहेकाले सचेतना र सावधानी अपनाउन आग्रह गरेको छ ।
महामारीको चपेटामा पनि बुटवलमा संक्रमितको घरघरमा पुगेर हौसला बढाएका, आयुर्वेद ओखती वितरण र योगा सिकाएका सन्देशमूलक समाचारले प्रभावित भएको भन्दै डब्लूएचओका नेपाल प्रमुख डा.राजेशले बुटवलका कामको प्रशंसा गरे । उनले आयुर्वेद र योगालाई विस्तार गर्न जरुरी रहेको पनि उल्लेख गरेका थिए ।
पालिकाहरुले कोरोना महामारी विरुद्ध सञ्चालन गरेका अभियानहरु प्रशंसनीय र प्रभावकारी रहेको बताउँदै उक्त टोलीले समुदायस्तरमा व्यापक परीक्षण र सचेतनालाई तीब्रता दिन आग्रह गरेको थियो । ‘कोरोना परीक्षणको दायरालाई अझ बढाउनुस् र सचेतनाका कामलाई अझ विस्तार गर्नुस्’ विशेषज्ञहरुको जोड थियो । कोरोना महामारी केही वर्ष कायमैं रहन सक्ने बताउँदै टोलीका प्रतिनिधिहरुले सरकारले क्रमशः खोपको व्यवस्था गर्ने जानकारी गराएका थिए । यो टोलीले भोलि शनिबार लुम्बिनीमा विशेष कार्यक्रम गर्ने तयारी छ ।

नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको संक्रमण छ । नेपालमा अहिलेसम्म सात लाख २४ हजार ४५५ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यस्तै छ लाख ३६ हजार चार सय २ व्यक्ति स्वास्थ्य लाभ गरी घर फर्किएका र नौ हजार ६ सय ३७ को संक्रमणबाट निधन भइसकेको छ ।

 

सम्बन्धित शिर्षक :