स्वास्थ्यसमाचार /समुदायको नेतृत्वमा गरिने एचआईभी परीक्षण (कम्युनिटी लेड टेस्टिङ–सीएलटी) सम्बन्धी तीनदिने तालिम बुटवलमा सम्पन्न भएको छ।
एचआईभी संक्रमणको समयमै पहिचान, रोकथाम तथा उपचार सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले नागार्जुन डेभलपमेन्ट कम्युनिटी (एनडीसी) को आयोजना तथा लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको समन्वयमा तालिम सञ्चालन गरिएको हो।
आप्रवासी तथा उनीहरूका परिवारलाई लक्षित एचआईभी रोकथाम कार्यक्रमअन्तर्गत समुदायस्तरमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ।
तालिममा बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका २८ जनाभन्दा बढी स्वास्थ्यकर्मी तथा कार्यक्रमसँग सम्बन्धित कर्मचारी सहभागी थिए। आउटरीच वर्कर, सामुदायिक स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी, कार्यक्रम अधिकृत तथा अनुगमन र मूल्याङ्कनमा संलग्न कर्मचारीको सहभागिता रहेको थियो।
तालिममा समुदायस्तरमै एचआईभी परीक्षण सेवा विस्तार, परीक्षण प्रक्रियाको गुणस्तर, गोपनीयता, परामर्श तथा संक्रमण पुष्टि भएका व्यक्तिलाई उपचार सेवासम्म जोड्ने विषयमा प्रशिक्षण दिइएको थियो।
तालिममा लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिस्ट शिवेन्द्र चौधरी, वरिष्ठ मेडिकल ल्याब टेक्नोलोजिस्ट जीव लाल भुसाल, मेडिकल ल्याब टेक्नोलोजिस्ट तथा प्रशासक दीपेन्द्रकुमार मण्डल र यूएनडीपीका फोकल पर्सन डा. समिर मैनालीले प्रशिक्षण दिएका थिए।
समापन कार्यक्रम एनडीसीका कार्यकारी निर्देशक जगदीशचन्द्र भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक डा. सुवर्ण आचार्य प्रमुख अतिथि तथा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख उमा देवी थापा विशिष्ट अतिथि रहनुभएको थियो।

कार्यक्रममा बोल्दै निमित्त निर्देशक डा. आचार्यले एचआईभी संक्रमणको समयमै पहिचान र समुदायस्तरमा परीक्षण सेवाको पहुँच विस्तार गर्न यस्ता तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई कार्यक्षेत्रमा प्रयोग गर्दै समुदायमा परीक्षण तथा उपचार सेवाको पहुँच बढाउनुपर्नेमा जोड दिनुभयो।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख थापाले समुदायमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने जनशक्तिको क्षमता अभिवृद्धि हुनु एचआईभी रोकथाम तथा नियन्त्रणका लागि महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले जोखिममा रहेका समुदायसम्म परीक्षण र परामर्श सेवा पुर्याउन सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमका अध्यक्ष भट्टले समुदायस्तरमा एचआईभी परीक्षणको पहुँच विस्तार गर्न तालिममा सिकेका विषयलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गर्नुभयो।
समापनमा बोल्दै एनडीसी रुपन्देहीकी परियोजना अधिकृत अनिता तिमिल्सिनाले तालिमबाट प्राप्त ज्ञान र सीपलाई समुदायस्तरमा व्यवहारमा उतार्दै एचआईभी परीक्षण तथा रोकथाम सेवाको पहुँच विस्तार गर्न सहभागीलाई आग्रह गर्नुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका फोकल पर्सन पर्शुराम पोखरेल, स्वास्थ्य कार्यालयका टीबी/एचआईभी फोकल पर्सन टीकाराम अधिकारी, यूएनडीपीका डा. समिर मैनाली, एनडीसीका अनुगमन तथा मूल्याङ्कन व्यवस्थापक खेमराज जोशी, परियोजना संयोजक वीरबहादुर पुनलगायतको सहभागिता थियो। कार्यक्रमको सञ्चालन एनडीसीका डिलेन्द्र मल्लले गर्नुभएको थियो।
एनडीसीले यूएनडीपी र द ग्लोबल फण्डको सहयोगमा लुम्बिनी प्रदेशका रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया र दाङ गरी छ जिल्लामा एचआईभी, क्षयरोग तथा औलो रोगको रोकथामसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। उक्त कार्यक्रमअन्तर्गत एचआईभी रोकथामका गतिविधिसमेत सञ्चालन भइरहेका छन्।



प्रतिकया दिनुहोस्