तिहार पर्वको धार्मिक, सांस्कृतिक महत्त्व र स्वास्थ्य सँगको अन्तरसम्बन्ध

प्रकाश, बत्ती र रङको पर्व शुभ दीपावली २०८३ को सम्पूर्ण नेपाली आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य एवं दीर्घायुको कामनासहित हार्दिक मंगलमय शुभकामना।

नेपालीहरूको दोस्रो ठूलो र अत्यन्तै मनोरम चाड तिहार, जसलाई ‘यमपञ्चक’ वा ‘प्रकाश अर्थात् बत्तीको पर्व’ पनि भनिन्छ। तिहार पर्व केवल धार्मिक कर्मकाण्ड वा रमाइलोमा मात्र सीमित छैन।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने यो पर्वले मानव जीवन, प्रकृति, जनावर र स्वास्थ्यबीचको गहिरो सम्बन्धलाई उजागर गर्दछ। उज्यालो, प्रकाश, रङ, सम्बन्ध र पकवानहरूको यो सङ्गमले हाम्रो मानसिक तथा शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारिरहेको हुन्छ।

 तिहार पर्वको बहुआयामिक महत्त्व

१. सांस्कृतिक तथा सामाजिक महत्त्व: तिहार दिदीबहिनी तथा भाइचाराको प्रेम र सद्भावको प्रतीक हो। विशेष गरी काग तिहार, कुकुर तिहार, गाई तिहार (लक्ष्मीपूजा), गोवर्धन पूजा र भाइटीका गरी पाँच दिन मनाइने यो पर्वले मानिसलाई प्रकृति र जीवजन्तुसँग एकाकार गराउँछ। दिदीबहिनी र दाजुभाइबीचको पवित्र सम्बन्धलाई प्रगाढ बनाउने भाइटीकाले पारिवारिक एकता र आत्मीयतालाई बलियो बनाउँछ।

२. प्रकृति र प्राणीप्रतिको कृतज्ञता: तिहारले हामीलाई मानवकेन्द्रित सोचबाट माथि उठेर प्रकृति र इतर जीवहरूको सम्मान गर्न सिकाउँछ। सन्देशवाहक काग, बफादार संरक्षक कुकुर, कृषि र दूधको स्रोत गाई तथा खेतबारी जोत्नमा सहयोग गर्ने गोरुको पूजा गरिनुले पारिस्थितिक प्रणालीमा सबैको समान महत्त्व छ भन्ने सन्देश दिन्छ।

३. धार्मिक तथा आध्यात्मिक पहिचान: अँध्यारोमाथि उज्यालोको र अज्ञानतामाथि ज्ञानको विजयका रूपमा घर–घरमा दियो बालेर लक्ष्मीको आह्वान गरिन्छ। यसले मानिसभित्र रहेको नकारात्मक ऊर्जालाई हटाएर सकारात्मक ऊर्जा र उमङ्ग भर्ने काम गर्छ।

तिहार र स्वास्थ्यबीचको अन्तरसम्बन्ध

तिहारमा अपनाइने परम्परा, खाइने खानपिन र गरिने क्रियाकलापहरू वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यका लागि निकै लाभदायक छन्।

 भाइटीकाका परम्परागत सामग्री र स्वास्थ्य लाभ

-ओखर र कटुस: भाइटीकामा दाजुभाइलाई ओखर फोर्ने र खान दिने चलन छ। ओखरमा प्रशस्त मात्रामा ओमेगा–३ फ्याटी एसिड, भिटामिन ई र एन्टिअक्सिडेन्ट हुन्छ। यसले मुटुको स्वास्थ्य राम्रो बनाउनुका साथै मस्तिष्कको कार्यक्षमता बढाउँछ।

-मखमली र सयपत्री फूल: मखमली नझर्ने र नओइलाउने भएकाले यसको सांस्कृतिक महत्त्व त छँदैछ। आयुर्वेदमा मखमली र सयपत्री फूललाई औषधि मानिन्छ। सयपत्रीको रस वा चियाले छालाको सङ्क्रमण र पाचनसम्बन्धी समस्यामा राहत दिन्छ।

-सप्तरङ्गी टीका र रङहरू: रङहरूले मानिसको मनस्थितिमा प्रत्यक्ष प्रभाव पार्छन्। चम्किला रङहरूले मस्तिष्कमा सकारात्मक हर्मोनहरू (जस्तै, डोपामाइन) उत्सर्जन गराउन मद्दत गर्दछन्, जसले तनाव घटाउँछ।

 प्रकाश (उज्यालो) र मानसिक स्वास्थ्य

कार्तिक महिनामा जाडो सुरु हुने भएकाले दिन छोटा र अँध्यारा हुन थाल्छन्। यस्तो समयमा मानिसमा ‘सिजनल अफेक्टिभ डिसअर्डर’ अर्थात् मौसमी निराशापन देखिन सक्छ। तिहारमा बालिने दियो, बत्ती र झिलिमिलीले वातावरणलाई उज्यालो बनाउँछ। प्रकाश उपचारको सिद्धान्तअनुसार यसले मानिसको मनमा उत्साह र सकारात्मक सोच सञ्चार गर्छ।

सरसफाइ र वातावरणीय स्वच्छता

लक्ष्मीपूजाको पूर्वसन्ध्यामा घर, आँगन, चोक र वातावरण सफा गरिने, पोतिने र सजाउने गरिन्छ। वर्षात्पछि जम्मा भएका फोहोर, कीटाणु र ओसिलोपन हटाउन यो परम्परा अत्यन्तै उपयोगी छ। सफा वातावरणले सङ्क्रामक रोगहरूबाट बचाउनुका साथै मानसिक शान्ति प्रदान गर्छ।

सामाजिक घुलमिल र मानसिक तागत

देउसी–भैलो खेल्ने, गीत गाउने, नाच्ने र परिवार तथा आफन्तजन भेला हुने परम्पराले मानिसलाई एक्लोपना र मानसिक तनावबाट मुक्त हुन मद्दत गर्छ। सामूहिक रूपमा मनाइने खुसीले शरीरमा ‘इन्डोर्फिन’ हर्मोन बढाउँछ, जसले शरीरको प्रतिरोधात्मक क्षमतालाई समेत मजबुत बनाउँछ।

तिहारमा स्वास्थ्य सुरक्षासम्बन्धी ध्यान दिनुपर्ने पक्षहरू

तिहार स्वास्थ्यका लागि लाभदायी भए तापनि केही सावधानी अपनाउनु आवश्यक छ।

– खानपिनमा सन्तुलन:सेलरोटी, मिठाई र तेलमा तारेका परिकारहरूको अत्यधिक सेवनले उच्च रक्तचाप, मधुमेह र पाचन प्रणालीमा समस्या ल्याउन सक्छ। त्यसैले परम्परागत पकवानको स्वाद लिँदा परिमाणमा ध्यान दिनुपर्छ।

– वायु तथा ध्वनि प्रदूषण: पटका र विस्फोटक पदार्थको प्रयोगले वायु र ध्वनि प्रदूषण बढाउँछ, जसले श्वासप्रश्वासका बिरामी (दम) र वृद्धवृद्धालाई असर गर्छ। तसर्थ, वातावरणमैत्री तिहार मनाउनु बुद्धिमानी हुन्छ।

आगो र बत्तीको सावधानी: दियो र झिलिमिली बत्ती बाल्दा आगलागी वा करेन्ट लाग्ने जोखिम हुने भएकाले विशेष सतर्कता अपनाउनुपर्छ।

तिहार केवल एउटा महान् पर्व मात्र नभई जीवनलाई ऊर्जावान्, भाइचारायुक्त र स्वस्थ बनाउने माध्यम हो। प्रकृति, प्राणी र मानवबीचको अन्तरसम्बन्धलाई सम्मान गर्दै सन्तुलित खानपिन र सुरक्षित तरिकाले तिहार मनाएमा यसले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्दछ।

उज्यालोको यो महान् पर्वले सबैको जीवनमा आरोग्य, सुख र समृद्धि ल्याओस्। भोजराज पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी

सम्बन्धित शिर्षक :