प्यूठानमा १७ बुँदे पोषण सुधार प्रतिबद्धता जारी, ६४ वटै वडामा सुधारका लक्ष्य निर्धारण

स्वास्थ्यसमाचार/ प्यूठान जिल्लाको पोषण अवस्था सुधार गर्न १७ बुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ। स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा भएको पोषण कार्यक्रमको वार्षिक समीक्षा तथा अन्तरक्रियाबाट जिल्लाका नौवटै स्थानीय तहका ६४ वडामा पोषणको अवस्था सुधार गर्ने लक्ष्यसहित प्रतिबद्धतापत्र जारी गरिएको हो।

कार्तिक ११ देखि १३ गतेसम्म सञ्चालन भएको तीनदिने कार्यक्रममा पोषण विशेष कार्यक्रम, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको तथ्याङ्क विश्लेषण र आर्थिक वर्ष २०८२/८३ को पोषण कार्यक्रमको वार्षिक समीक्षा गरिएको थियो।

कार्यक्रममा प्यूठान र स्वर्गद्वारी नगरपालिका तथा नौबहिनी, गौमुखी, झिमरुक, मल्लरानी, ऐरावती, माण्डवी र सरुमारानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, पोषण सम्पर्क व्यक्ति, पोषणमैत्री स्वास्थ्य संस्था घोषणाको तयारीमा रहेका संस्थाका प्रमुख, प्यूठान अस्पतालका प्रमुख तथा उपचार केन्द्रका सम्पर्क व्यक्तिसहित २९ जनाको सहभागिता थियो।

कार्यक्रममा नौवटै स्थानीय तहको वडागत पोषण अवस्थाको विश्लेषणात्मक प्रस्तुति, सबल पक्ष, कमजोर पक्ष, अवसर र चुनौतीको विश्लेषण (स्वोट विश्लेषण) तथा चालु आर्थिक वर्ष २०८३/८४ मा पोषण कार्यक्रम कार्यान्वयनका लागि तयार पारिएको कार्ययोजनामाथि छलफल गरिएको थियो।

कार्यक्रमको अन्तिम दिन सहभागीलाई दुई समूहमा विभाजन गरी जिल्लामा कुपोषणका वास्तविक समस्या र समाधानका उपायबारे छलफल गरिएको थियो। प्यूठानमा करिब ४ प्रतिशत बालबालिकामा देखिएको शीघ्र कुपोषण (एसएएम) को व्यवस्थापन गर्दै स्थानीय तहमा कुपोषण घटाउन आवश्यक तीन–तीनवटा कार्य पहिचान गरी कार्यान्वयन गर्ने योजना बनाइएको छ।

जारी प्रतिबद्धतापत्रमा २४ महिनासम्मका बालबालिकाको नियमित वृद्धि अनुगमन कम्तीमा २२ पटक पुर्‍याउने, पूर्ण स्तनपान गराउने आमाको प्रतिशत ८५ भन्दा माथि पुर्‍याउने, कम्तीमा ९० प्रतिशत सुत्केरी महिलाले आइरन फोलिक एसिड सेवन गरेको सुनिश्चित गर्ने र किशोरीमा हुने रक्तअल्पता ३० प्रतिशतभन्दा कम गर्ने लक्ष्य राखिएको छ।

त्यसैगरी, पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको पहिचान तथा व्यवस्थापन, पोषणसम्बन्धी औषधि र सामग्रीको पर्याप्त मौज्दात, पोषणमैत्री स्वास्थ्य संस्था निर्माण तथा स्थानीय तहमा पोषण र खाद्य सुरक्षा समितिको नियमित बैठकलाई पनि प्रतिबद्धतामा समेटिएको छ।

कार्यक्रममा प्यूठान अस्पतालका प्रमुख डा. सुवास पौडेलको समेत सहभागिता थियो। कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय प्रमुख नरेशबाबु श्रेष्ठ, वरिष्ठ खोप अधिकृत मधुसुधन खड्का र वरिष्ठ अधिकृत तथा जिल्ला पोषण सम्पर्क व्यक्ति पुष्कलप्रसाद श्रेष्ठले गरेका थिए। कार्यक्रम व्यवस्थापन जनस्वास्थ्य अधिकृत प्रभा ज्ञवालीले गरेकी थिइन्।

जिल्ला पोषण सम्पर्क व्यक्ति पुष्कलप्रसाद श्रेष्ठका अनुसार नौवटै स्थानीय तहका ६४ वडामा पोषणको अवस्था सुधार गर्न लक्ष्यसहित प्रतिबद्धतापत्र जारी गरिएको हो।

सम्बन्धित शिर्षक :