लुम्बिनीमा ५३.६ प्रतिशत गर्भ अनिच्छित, अस्थायी साधन प्रयोगकर्ता घटे

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा हुने गर्भधारण मध्ये ५३ दशमलव ६ प्रतिशत अनिच्छित हुने गरेको पाइएको छ।

एक वर्षमा भएका कुल एक लाख ६० हजार ३१७ गर्भधारण मध्ये ८५ हजार ९३५ अनिच्छित रहेको अध्ययनले देखाएको हो।

तीमध्ये ६२ हजार ५६९ गर्भपतनमा परिणत भएका थिए।प्रदेशमा परिवार नियोजनका आधुनिक साधन प्रयोगको अवस्था जिल्ला अनुसार फरक छ।

आर्थिक वर्ष २०८१/८२ मा लुम्बिनीमा आधुनिक परिवार नियोजन साधन प्रयोग गर्ने दर ३० दशमलव ४ प्रतिशत थियो।

रुपन्देहीमा भने यो दर २५ दशमलव १ प्रतिशत मात्र छ। पाल्पामा ४० दशमलव ६ प्रतिशत हुँदा कपिलवस्तुमा २५ दशमलव ९ र बाँकेमा २६ दशमलव २ प्रतिशत रहेको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार लुम्बिनी प्रदेशको कुल प्रजनन दर एक दशमलव ८४ छ। नेपालको कुल प्रजनन दर एक दशमलव ९४ रहेको अवस्थामा प्रदेशको दर केही कम भए पनि जिल्लागत अवस्था समान छैन।

रुकुम पूर्वमा कुल प्रजनन दर दुई दशमलव ७८ र कपिलवस्तुमा दुई दशमलव ७६ हुँदा दाङमा एक दशमलव ३८ र बर्दियामा एक दशमलव ३० रहेको छ। रुपन्देहीमा यो दर एक दशमलव ८० छ।

साधनको खपत पनि घट्यो

परिवार नियोजनका साधनको प्रयोगसँगै सरकारी स्वास्थ्य संस्थाबाट वितरण हुने साधनको खपतसमेत घटेको छ।

आर्थिक वर्ष २०८१/८२ मा ७१ लाख २२ हजार ५८० कन्डम खपत भएकोमा २०८२/८३ मा घटेर ४६ लाख २९ हजार २०६ मा पुगेको छ।

त्यसैगरी, खाने चक्कीको खपत तीन लाख ६८ हजार ६०८ बाट घटेर दुई लाख ४४ हजार ५०८ तथा तीन महिने सुईको खपत दुई लाख १४ हजार २३१ बाट घटेर एक लाख २७ हजार ३२ मा पुगेको छ।

इम्प्लान्ट र आईयूसीडीको खपतमा पनि कमी आएको छ। स्वास्थ्य निर्देशनालयका परिवार नियोजन फोकल पर्सन कुमार थापाका अनुसार परिवार नियोजन सेवालाई प्रभावकारी बनाउन साधनको उपलब्धता सँगै सेवाग्राही लाई सही जानकारी र परामर्श दिन आवश्यक हुन्छ।

“सेवाग्राहीको आवश्यकता र रोजाइ अनुसार उपयुक्त विधि छनोट गर्न सहयोग गर्ने, सम्भावित असरबारे जानकारी दिने र सेवा निरन्तरतामा ध्यान दिनुपर्छ,” थापाले भन्नुभयो।

थापाका अनुसार परिवार नियोजनका साधनको प्रयोग घट्नुका कारण पहिचान गरी सेवा पहुँच र गुणस्तर सुधारमा ध्यान दिन आवश्यक छ।

अध्ययनले पनि साधनको खपत घट्नुका कारण पहिचान गर्नुपर्ने औँल्याएको छ। साधनको उपलब्धता, स्वास्थ्यकर्मीको पहुँच, सेवाग्राहीको माग, विधि परिवर्तन, प्रयोगमा निरन्तरता र अनिच्छित गर्भधारण लगायत विषयको विश्लेषण आवश्यक रहेको अध्ययनमा उल्लेख छ।

परामर्श नहुँदा प्रयोग छाड्ने जोखिम

रुपन्देहीका स्वास्थ्य कार्यालय प्रमुख उमा थापाका अनुसार परिवार नियोजनका साधन प्रयोग गर्नेको सङ्ख्या बढे पनि कतिपयले बीचमै प्रयोग छाड्ने गरेका छन्।

साधन प्रयोग गर्दा देखिन सक्ने सामान्य असरबारे पूर्वजानकारी नहुँदा सेवाग्राहीमा डर र भ्रम उत्पन्न हुने गरेको उहाँको भनाइ छ।

“साधन उपलब्ध गराउनु मात्र पर्याप्त हुँदैन, सेवाग्राही लाई सही परामर्श दिनु पनि उत्तिकै आवश्यक हुन्छ,” थापाले भन्नुभयो।

स्वास्थ्यकर्मीका अनुसार कुनै विधिमा समस्या आएमा सेवाग्राहीको स्वास्थ्य अवस्था र आवश्यकता अनुसार अर्को उपयुक्त विधि छनोट गर्न सकिने जानकारी दिनुपर्छ।

परिवार नियोजनको सेवा साधन वितरणमा मात्र सीमित नराखी सेवाग्राहीको आवश्यकता र रोजाइ अनुसार निरन्तर सेवा उपलब्ध गराउनु पर्ने थापा को भनाइ छ।

रुपन्देहीमा आकस्मिक गर्भनिरोधक साधनको प्रयोग बढिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

आकस्मिक गर्भनिरोधकलाई नियमित परिवार नियोजनको विकल्पका रूपमा प्रयोग गर्न नहुने भएकाले यसको सही प्रयोग, समय र सीमाबारे सेवाग्राही लाई जानकारी गराउनु पर्ने स्वास्थ्यकर्मीको भनाइ छ।

किशोरकिशोरीलाई वैज्ञानिक सूचना

परिवार नियोजन सँगै किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी लाई पनि प्राथमिकता दिनुपर्ने देखिएको छ।लुम्बिनीमा किशोरी प्रजनन दर सन् २०१६ मा प्रति हजार ८१ रहेकोमा २०२१ मा ७१ मा झरेको थियो।

नेपाल बहुसूचक सर्वेक्षण २०२५ अनुसार यो दर प्रतिहजार ३० मा झरेको छ।

सामाजिक सञ्जाल र इन्टरनेटबाट सही तथा गलत दुवै प्रकारका सूचना प्राप्त हुने भएकाले किशोरकिशोरी लाई उमेर अनुकूल, वैज्ञानिक र भरपर्दो यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी उपलब्ध गराउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ।

परिवार नियोजन सेवाको प्रभावकारिता बढाउन नियमित साधन आपूर्ति, लामो अवधिका विधिको पहुँच, स्वास्थ्यकर्मीको क्षमता विकास, महिला स्वास्थ्य स्वयंसेविकाको परिचालन, प्रसूतिपछिको परिवार नियोजन सेवा तथा किशोरमैत्री सेवामा जोड दिनुपर्ने अध्ययनले औँल्याएको छ।

परिवार नियोजनको आवश्यकता घटेको ठान्नुभन्दा सेवाग्राहीको आवश्यकता र रोजाइ अनुसार गुणस्तरीय सेवा निरन्तर उपलब्ध गराउनुपर्ने देखिन्छ।

अनिच्छित गर्भधारण घट्दा आमाको स्वास्थ्य संरक्षण, सन्तानबीच उचित जन्मान्तर तथा बालबालिकाको शिक्षा, पोषण र स्वास्थ्यमा परिवारको ध्यान केन्द्रित गर्न सहज हुने अध्ययनमा उल्लेख छ।

 

सम्बन्धित शिर्षक :