परिवार नियोजन दिवस : साधन प्रयोग बढ्यो, सही परामर्श अझै चुनौती

स्वास्थ्यसमाचार/ परिवार नियोजनका साधनको प्रयोग बढ्दै गए पनि सेवाग्राहीलाई सही परामर्श दिने र आवश्यकताअनुसार उपयुक्त साधन छनोटमा सहयोग गर्ने विषय अझै चुनौतीका रूपमा रहेको स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख उमा थापाले बताउनु भयो।

परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या बढे पनि उचित परामर्शको अभावमा कतिपयले बीचमै साधन प्रयोग गर्न छाड्ने, साधनका असरबारे भ्रम फैलिने तथा विभिन्न अफवाहका कारण सेवाग्राही अन्योलमा पर्ने गरेको उहाँले बताउनुभयो।

१३औँ राष्ट्रिय परिवार योजना दिवस तथा ६७औँ नेपाल परिवार नियोजन संघ स्थापना दिवसका अवसरमा शुक्रबार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रम मा बोल्दै थापाले परिवार नियोजनलाई सुरक्षित मातृत्व र समग्र प्रजनन स्वास्थ्यसँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो।

उहाँका अनुसार प्राकृतिक विधिको प्रभावकारिता तुलनात्मक रूपमा कम हुने भएकाले आकस्मिक गर्भनिरोधक साधनको प्रयोग बढिरहेको छ।

सेवाग्राहीको रोजाइअनुसारका साधनको पर्याप्त उपलब्धता नहुनु र सही परामर्शको अभावले अनिच्छित गर्भधारणको जोखिम बढाउन सक्ने उहाँले बताउनुभयो।

परिवार नियोजनलाई गर्भनिरोधक साधन वितरणमा मात्र सीमित नगरी किशोरकिशोरीको प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व र परिवारको स्वास्थ्यसँग जोड्नुपर्ने थापाको भनाइ छ।

स्थानीय तहले यस क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गरी सेवा र परामर्शको पहुँच बढाउनुपर्ने उहाँले बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका–५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले परिवार नियोजनलाई स्वास्थ्यसँगै परिवारको सामाजिक तथा आर्थिक अवस्थासँग जोडेर हेर्नुपर्ने बताउनुभयो।

स्थानीय तहबाट परिवार नियोजनसम्बन्धी कार्यक्रमलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो।

नेपाल परिवार नियोजन संघका केन्द्रीय सल्लाहकार निर्मलप्रसाद लाकौलले विपद्का समयमा समेत यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा अवरुद्ध हुन नहुने बताउनुभयो।

परिवार नियोजनका साधन र सेवाको नियमित उपलब्धताले अनिच्छित गर्भधारण रोक्न तथा मातृ र शिशु स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो।

नेपाल परिवार नियोजन संघ रुपन्देहीको आयोजना तथा स्वास्थ्य कार्यालय रुपन्देही, बुटवल उपमहानगरपालिका र सुनौलो परिवार नेपालको सहकार्यमा भएको कार्यक्रममा किशोरकिशोरी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा पत्रकारको सहभागिता थियो।

संघ रुपन्देहीका अध्यक्ष नीरजप्रसाद लाकौलको अध्यक्षता, स्वास्थ्य कार्यालयका परिवार योजना फोकल पर्सन प्रभास पन्थीको स्वागत तथा संघ रुपन्देही र पाल्पाका प्रमुख शोभाकान्त न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा बुटवल उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख युवराज पाण्डेयलगायतको सहभागिता रहेको थियो।

सम्बन्धित शिर्षक :