स्वास्थ्यसमाचार/भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बुटवल हस्पिटल प्रा.लि.ले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
अस्पतालका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलले नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा अस्पतालका सञ्चालक एवं जनप्रतिनिधि नरिश्वर शर्मा पनि उपस्थित हुनुहुन्थ्यो।
रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको अस्पतालले जनाएको छ। प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वासका साथ सहयोग गरिएको अध्यक्ष पौडेलले बताउनुभयो।
अस्पतालका अनुसार यसअघि पनि प्रभावित क्षेत्रमा जाने अभियन्ता तथा सहयोगी समूहहरूमार्फत औषधिजन्य सामग्री पठाइएको थियो। विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सहयोग उपलब्ध गराउन अस्पताल तयार रहेको जनाइएको छ।
बुटवलको ज्योतिपथमा रहेको सय शय्या क्षमताको बुटवल हस्पिटलले विगत २५ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। अनुभवी स्वास्थ्यकर्मी, आधुनिक चिकित्सा प्रविधि र पूर्वाधारमार्फत अस्पतालले विभिन्न विशेषज्ञ सेवा सञ्चालन गर्दै आएको जनाएको छ।
विपन्न तथा असहाय बिरामीलाई सहज रूपमा उपचार उपलब्ध गराउँदै आएको अस्पतालले विपद्का बेला पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको जनाएको छ।



प्रतिकया दिनुहोस्