गुल्मीको गुल्मीदरबार गाउँपालिकामा स्वास्थ्य सेवा आज गाउँ–गाउँसम्म पुगेको छ। अधिकांश स्वास्थ्य संस्थामा भौतिक पूर्वाधार बनेका छन्, बर्थिङ सेन्टर विस्तार भएका छन्, गर्भवती महिलाले गाउँमै निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड सेवा पाउन थालेका छन्।
दीर्घरोगीका लागि निःशुल्क औषधि उपचार, प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स, मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया र आवश्यक परेका बिरामीका लागि निःशुल्क रगत व्यवस्थापनजस्ता कार्यक्रम सञ्चालनमा छन्।यी उपलब्धिका पछाडि स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र स्थानीय समुदायको सामूहिक योगदान छ।
तर, स्थानीय तहमा स्वास्थ्य सेवाको योजना निर्माणदेखि कार्यक्रम कार्यान्वयन र सेवा विस्तारसम्म निरन्तर खटिने स्वास्थ्यकर्मीमध्ये एक हुन्—गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायणप्रसाद अर्याल।
स्वास्थ्य सेवामा तीन दशक नजिकको अनुभव बोकेका अर्याल हाल स्वास्थ्य सेवाको हेल्थ इन्स्पेक्सन समूहअन्तर्गत सातौ तहमा कार्यरत छन्। उनी २०७४ साउन १५ गतेदेखि गुल्मीदरबार गाउँपालिकाको स्वास्थ्य शाखामा स्वास्थ्य संयोजकको जिम्मेवारी सम्हालिरहेका छन्।उनको स्वास्थ्य सेवाको यात्रा २०५४ सालबाट सुरु भएको हो।
उनले सुरुमा अमर अर्बाथोक उपस्वास्थ्य चौकीमा अस्थायी रूपमा सेवा गर्ने अवसर पाए। त्यहाँ रहँदा नियमित स्वास्थ्य सेवा प्रवाहसँगै स्वास्थ्य आमा समूह गठन तथा सक्रियता, स्वास्थ्यसम्बन्धी जनचेतना र समुदाय परिचालनका काममा जोड दिए।उनको पहलमा अन्तरवडा स्तरीय तीजगीत प्रतियोगितामार्फत स्वास्थ्य सन्देश प्रवाह गर्ने अभियान सुरु भयो। तत्कालीन गाविसलाई मदिरा निषेधित क्षेत्र बनाउने प्रयाससँगै सार्वजनिक स्थल, विवाह तथा अन्य समारोहमा धूम्रपान निषेध अभियानसमेत सञ्चालन गरिएको थियो।स्थायी सेवामा प्रवेश गरेपछि उनी ओखलढुंगाको तलुवा उपस्वास्थ्य चौकीमा पुगे।
एक वर्षभित्रै गृहजिल्ला गुल्मीमा सरुवा भएर आउने अवसर पाए। त्यसपछि बलिथुम, जुभुङ र खर्ज्याङ स्वास्थ्य संस्थामा सेवा गरे।विभिन्न भौगोलिक क्षेत्र र समुदायमा काम गर्दा उनले स्वास्थ्य सेवा केवल औषधि वितरण वा बिरामीको उपचारमा सीमित नरहेको अनुभव गरे। स्वास्थ्य संस्थाको सुधारका लागि समुदायको विश्वास, स्थानीय नेतृत्वको साथ र बहुक्षेत्रीय समन्वय आवश्यक हुने उनको बुझाइ बन्यो।
जीर्ण स्वास्थ्य चौकीदेखि व्यवस्थित सेवासम्म
२०६१ सालमा उनी आफ्नै जन्मस्थलमा रहेको दरबार देवीस्थान स्वास्थ्य चौकीमा सरुवा भए। त्यहाँ उनले करिब १४ वर्ष सेवा गरे।त्यतिबेला स्वास्थ्य चौकीको अवस्था कमजोर थियो। कच्ची भवन, जीर्ण भित्ताहरू, भत्कँदै गरेका झ्यालढोका र खुला परिसरले स्वास्थ्य संस्थाको दयनीय अवस्था झल्काउँथ्यो।
सीमित स्रोत र कमजोर पूर्वाधारका कारण गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह चुनौतीपूर्ण थियो।गर्भवती महिलाहरुलाइ सुरक्षित प्रसुनति सेवाको लागि सदरमुकाम धाउनुपर्ने लगायतका धेरै स्वास्थ्य समस्या विद्यमान थिए ।स्वास्थ्य चौकीको अवस्था सुधार्न अर्यालले स्वास्थ्य संस्था व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग बैठक तथा छलफल थाले। तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाएर स्वास्थ्य संस्थाको सुधार अभियान अघि बढाइयो।
समुदायको साथ र सहभागितामा क्षयरोगका बिरामीलाई उपचार सहज बनाउन डट्स सेन्टर सञ्चालन गरियो। किशोरकिशोरीमैत्री क्लिनिक स्थापना भयो। स्वास्थ्य र शिक्षाको एकीकृत विकासका लागि ऐतिहासिक महायज्ञ आयोजना गरियो।महायज्ञबाट स्वास्थ्य चौकीको विकासका लागि ८ लाख रुपैयाँ संकलन भयो। संकलित रकममध्ये ४ लाख ५० हजार रुपैयाँ र तत्कालीन जिल्ला विकास समिति गुल्मीबाट प्राप्त ८ लाख रुपैयाँ गरी १२ लाख ५० हजार रुपैयाँमा चारकोठे पक्की भवन निर्माण गरियो।
सो कार्य सम्पन्न भएपश्चात स्वास्थ्य चौकिमा सुरक्षित प्रसुति सेवाको लागी २४ घण्टे वर्थिङ्ग सेन्टरको सेवा समेत शुरुवात गरियो ।अनि महायज्ञबाट उठेको रकममध्ये वाकी ३ लाख रुपैयाँ खर्च गरेर स्वास्थ्य चौकीका लागि तीन रोपनी जग्गासमेत सोही समयमा खरिद गरिएको थियो।अर्यालको पहलमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालनमा ल्याइयो। भारतीय दूतावाससँग पहल गरी एम्बुलेन्स सेवा सुरु गरियो। स्वास्थ्य चौकीको पहुँचभन्दा टाढा रहेका बस्तीमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरी सेवा विस्तार गरिएको थियो।
“स्वास्थ्य संस्थाको सुधार स्वास्थ्यकर्मी एक्लैले गर्न सक्दैन,” अर्याल भन्छन्, “स्थानीय सरकार, जनप्रतिनिधि, समुदाय र स्वास्थ्यकर्मीबीचको सहकार्य बलियो भए सीमित स्रोतबाट पनि उल्लेखनीय परिवर्तन सम्भव हुन्छ।”
गाउँपालिकाको स्वास्थ्य योजना बनाउने जिम्मेवारी
२०७४ सालमा स्थानीय तहको संरचना बनेसँगै अर्यालले गुल्मीदरबार गाउँपालिकाको स्वास्थ्य संयोजकको जिम्मेवारी पाए। स्वास्थ्य शाखाबाट गाउँपालिकाको स्वास्थ्य नीति तथा योजना निर्माण, बजेट प्रस्ताव तयारी, स्वास्थ्य संस्था र वडास्तरमा कार्यक्रम सञ्चालन तथा अनुगमनको जिम्मेवारी उनको काँधमा आयो।संघ र प्रदेश सरकारबाट हस्तान्तरित सशर्त अनुदानका कार्यक्रमसँगै गाउँपालिकाको समानीकरण अनुदानबाट स्थानीय आवश्यकता पहिचान गरी विभिन्न नवीन स्वास्थ्य कार्यक्रम सञ्चालन गरिए।
गाउँ–टोलमै प्राथमिक उपचार सेवा पुर्याउने उद्देश्यले ८३ जना महिला स्वास्थ्य स्वयंसेविका, ३४ जना विद्यालयका स्वास्थ्य फोकल शिक्षक, ३५ जना वडा जनप्रतिनिधि, सात जना वडा सचिव र दुई जना प्रहरी गरी १६१ जनालाई दुईदिने प्राथमिक उपचार तालिम दिइयो। तालिममा सहभागीलाई प्राथमिक उपचार सामग्रीसहितको किटबक्स उपलब्ध गराएर गाउँ र विद्यालयसम्म प्राथमिक उपचार सेवा विस्तार गरिएको थियो।
विद्यालयमा अध्ययनरत छात्राको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै गाउँपालिकाभित्रका माध्यमिक तथा निम्न माध्यमिक विद्यालयमा सुरक्षित महिनावारीसम्बन्धी अभिमुखीकरण सञ्चालन गरियो। विद्यालयमा सेनेटरी प्याड वितरण गर्दै सुरक्षित महिनावारीका लागि आवश्यक सामग्रीयुक्त विद्यालय क्षेत्र विकास गर्ने अभियान अघि बढाइयो।
ज्येष्ठ नागरिक, महिला, आँखा, दाँत तथा अन्य स्वास्थ्य समस्या भएका नागरिकलाई लक्षित गरी प्रत्येक वडामा निःशुल्क एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरियो।प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरियो। किशोरकिशोरीको स्वास्थ्य तथा जीवनोपयोगी ज्ञानलाई प्राथमिकता दिँदै माध्यमिक विद्यालयमा जनसंख्या शिक्षा तथा साथी शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइयो।
गाउँपालिकामा आँखा, नाक, कान र घाँटीसम्बन्धी तीनदिने निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरियो। सबै स्वास्थ्य संस्थामा कम्प्युटर, प्रिन्टर र फोटोकपीको व्यवस्था गरी स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली र विद्युतीय आपूर्ति व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याइयो।
‘कस्तो छ आमा’देखि ‘मेरी आमा, स्वस्थ आमा’कार्यक्रम हुदै पूर्ण पोषणमैत्री गाउँपालिका
मातृ तथा नवजात शिशुको स्वास्थ्यलाई प्राथमिकता दिँदै गाउँपालिकाले नेपालमै पहिलो पटक ‘कस्तो छ आमा’ (Hello Aama) कार्यक्रम सुरु गरेको अर्याल बताउँछन् । २ वर्षको अपार सफलतासंगै पछि कार्यक्रमलाई परिमार्जन गरी ‘मेरी आमा, स्वस्थ आमा’ अभियानका रूपमा विस्तार गरिएको थियो।त्यतिबेला गाउँपालिकामा एउटा मात्र बर्थिङ सेन्टर सञ्चालनमा थियो। सेवा विस्तार गर्दै चार स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइयो।गुल्मीदरबारलाई शून्य घरमै प्रसूति हुने पालिका बनाउने अभियानसमेत अघि बढाइएको छ।
गर्भवती महिलालाई सहज स्वास्थ्य पहुँचका लागि निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिएको छ।गाउँपालिकालाई नेपालमै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको छ। ‘हाम्रो गाउँ, स्वस्थ बनाऔँ’ अभियानमार्फत स्वास्थ्यप्रति समुदायको सहभागिता र जिम्मेवारी बढाउने प्रयास गरिएको छ।
गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन गरी भवन निर्माण सम्पन्न गरिएको छ। अस्पताल स्थापना र सञ्चालनसँगै स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ।सबै वडामा मापदण्डअनुसार स्वास्थ्य चौकी भवन निर्माण गरी सहज स्वास्थ्य सेवा प्रवाहको आधार तयार गरिएको अर्याल बताउँछन्।दीर्घरोगीका लागि निःशुल्क औषधि उपचार, मोतियाबिन्दु भएका बिरामीका लागि निःशुल्क शल्यक्रिया तथा रगत आवश्यक पर्ने बिरामीका लागि निःशुल्क रगत व्यवस्थापनजस्ता कार्यक्रम पनि सञ्चालनमा छन्।
कामको मूल्यांकन र अन्तर्राष्ट्रिय अनुभव
स्वास्थ्य क्षेत्रमा गरेको कामको मूल्यांकनस्वरूप अर्याललाई जिल्ला स्वास्थ्य कार्यालयबाट पटक–पटक उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा सम्मान गरिएको छ। उनले कार्यरत स्वास्थ्य संस्थालाई उत्कृष्ट बनाउँदै कम्प्युटर, ल्यापटप, प्रिन्टर, टेलिभिजनलगायत सामग्री तथा विभिन्न प्रमाणपत्र र पुरस्कार प्राप्त गर्न सफल भएका छन्।गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा गरेको कार्यसम्पादन मूल्यांकनमा उनी गाउँपालिकाका सम्पूर्ण कर्मचारीमध्ये सर्वोत्कृष्ट कर्मचारी घोषित भए।
उनी नेपाल सरकारको सिफारिसमा उत्कृष्ट कर्मचारीका रूपमा नेपालको प्रतिनिधित्व गर्दै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) द्वारा जापानमा सञ्चालित अन्तर्राष्ट्रिय तालिमसमेत पूरा गरेका छन्।लामो समय स्वास्थ्य सेवामा बिताएका अर्यालका लागि पुरस्कारभन्दा नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउनु ठूलो उपलब्धि हो।“स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो,” उनी भन्छन्, “दुर्गम बस्तीका नागरिकले पनि सहज, गुणस्तरीय र समयमै सेवा पाउनुपर्छ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि योजना मात्र बनाएर हुँदैन, त्यसलाई समुदायको सहभागितामा व्यवहारमा उतार्नुपर्छ।”अमर अर्बाथोकको अस्थायी स्वास्थ्य सेवाबाट सुरु भएको उनको यात्रा आज गाउँपालिकाको समग्र स्वास्थ्य प्रणालीको योजना, व्यवस्थापन र नेतृत्वसम्म आइपुगेको छ। जीर्ण स्वास्थ्य चौकीको पुनर्संरचनादेखि आधारभूत अस्पताल स्थापना, बर्थिङ सेन्टर विस्तार, पोषणमैत्री स्वास्थ्य संस्था र गाउँ–टोलसम्म स्वास्थ्य सेवा पुर्याउने अभियानसम्म उनको यात्रा निरन्तर छ।
स्वास्थ्य विमा सुचारु भएको गुणस्तरिय स्वास्थ्य सेवा सहितको १५ शैया आधारभुत अस्पताल अहिले संचालनमा रहेको छ ।स्वास्थ्य क्षेत्रमा परिवर्तन सम्भव छ भन्ने विश्वासलाई कामबाट प्रमाणित गर्दै नारायणप्रसाद अर्याल अहिले पनि गुल्मीदरबारको स्वास्थ्य सेवाको मुहार फेर्ने अभियानमै सक्रिय रहेका छन्।
३ वटै सरकारको सहयोग र समन्वयमा जनप्रतिनिधी र सरोकारवालाहरु सहित आम जनसमुदायको साथमा स्वास्थ्य क्षेत्रलाइ रुपान्तरण गर्न सम्भव रहेको आत्मविश्वास सहित उनको दृढ संकल्प रहेको देखिन्छ ।


प्रतिकया दिनुहोस्