प्रसूति कक्षमा हरेक दिन नयाँ जीवनको सुरुआत हुन्छ। शिशुको पहिलो रुवाइसँगै आमाको अनुहारमा देखिने खुसी, उत्साह र जिम्मेवारीलाई नजिकबाट अनुभव गर्ने अवसर स्वास्थ्यकर्मी लाई हुन्छ।
त्यही क्षणमा शिशुले पाउने सबैभन्दा अमूल्य उपहार हो-आमाको पहिलो दूध। यो केवल पोषणको स्रोत होइन, शिशुको स्वस्थ जीवनको पहिलो आधार हो।शिशु जन्मिएपछि आमाको स्तनबाट निस्कने पहिलो पहेँलो बाक्लो दूध धेरैका लागि सामान्य दूधजस्तो लाग्न सक्छ।
तर यही बिगौती दूध शिशुको रोगसँग लड्ने क्षमताको पहिलो आधार हो। कोलोस्ट्रम (Colostrum) भनिने यो दूधमा संक्रमणसँग लड्न सहयोग गर्ने महत्वपूर्ण प्रतिरक्षा तत्व (Immune Factors) हुन्छन्। त्यसैले स्वास्थ्यकर्मीहरूले यसलाई शिशुको ‘पहिलो प्राकृतिक खोप’ का रूपमा लिन्छन्।
तर, हाम्रो समाजमा अझै पनि कतिपय गलत धारणा र परम्पराका कारण शिशुले पाउनुपर्ने यही पहिलो अधिकारबाट वञ्चित हुने अवस्था छ। कतिपय ठाउँमा बिगौती दूध फाल्ने, पहिले मह वा घुट्टी चटाउने जस्ता अभ्यास अझै छन्। यस्ता व्यवहार परिवर्तन नगरेसम्म शिशुको स्वस्थ सुरुआत सुनिश्चित गर्न कठिन हुन्छ।
स्तनपान केवल शिशुको पेट भर्ने प्रक्रिया होइन। यो उसको पोषण, रोगसँग लड्ने क्षमता, शारीरिक तथा मानसिक विकास र आमा–शिशुको सम्बन्धसँग जोडिएको विषय हो। त्यसैले स्तनपानलाई आमाको मात्र जिम्मेवारीका रूपमा बुझ्नु हुँदैन। यसको सफलताका लागि परिवार, समुदाय, स्वास्थ्य संस्था, कार्यस्थल र राज्यको साझा भूमिका आवश्यक हुन्छ।
लुम्बिनीको उपलब्धि, चुनौती कायमै
पूर्ण स्तनपान (Exclusive Breastfeeding) को क्षेत्रमा लुम्बिनी प्रदेशले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। बहु–सूचक समूह सर्वेक्षण (एनएमआईसीएस) २०२४/२५ अनुसार लुम्बिनीमा छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउने दर ८१.५ प्रतिशत रहेको छ। यो सातै प्रदेशमध्ये सबैभन्दा उच्च हो।
नेपालको राष्ट्रिय पूर्ण स्तनपान दर ६९.७ प्रतिशत रहेको अवस्थामा लुम्बिनीको उपलब्धि सकारात्मक संकेत हो। यसले मातृ तथा शिशु स्वास्थ्य सेवा, समुदायस्तरको चेतना र स्वास्थ्यकर्मीको निरन्तर प्रयासले व्यवहार परिवर्तन सम्भव हुन्छ भन्ने देखाउँछ।
सरकारले सन् २०३० सम्म पूर्ण स्तनपानको दर ९० प्रतिशतभन्दा माथि पुर्याउने लक्ष्य लिएको छ। लुम्बिनीको वर्तमान अवस्था उक्त लक्ष्यतर्फ अघि बढ्ने बलियो आधार हो।
तर उपलब्धिसँगै चुनौती पनि छन्। अझै करिब १८.५ प्रतिशत शिशु पूर्ण स्तनपानबाट बाहिर छन्। उनीहरूका आमासम्म सही सूचना, परामर्श र सहयोग पुर्याउनु आवश्यक छ। प्रदेशमा २४.९ प्रतिशत शिशुलाई दुधदानीबाट दूध खुवाउने गरिएको तथ्याङ्कले पनि स्तनपानसम्बन्धी थप सहयोग आवश्यक रहेको देखाउँछ।
पहिलो दूधप्रति सोच बदल्नुपर्छ
शिशु जन्मिएपछि पहिलो घण्टाभित्र स्तनपान सुरु गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ। जन्मपछि आमा र शिशुको छाला-छाला को सम्पर्क (Skin-to-Skin Contact) ले शिशुको तापक्रम कायम राख्न, स्तनपान सहज बनाउन र भावनात्मक सम्बन्ध बलियो बनाउन सहयोग गर्छ।
बिगौती दूधमा रोगप्रतिरोधात्मक तत्व प्रशस्त हुन्छन्। नवजात शिशुको प्रतिरक्षा प्रणाली पूर्ण विकसित नभइसकेको अवस्था मा यसले संक्रमणबाट जोगाउन प्रारम्भिक सुरक्षा दिन्छ।तर अझै पनि कतिपय परिवारमा पहिलो दूधबारे भ्रम छ। बाक्लो भएकाले राम्रो हुँदैन भन्ने सोच गलत हो। शिशुको जीवनको सुरुआती दिनमा यही दूध सबैभन्दा आवश्यक हुन्छ।
जन्मदेखि छ महिनासम्म सामान्य अवस्थामा शिशुलाई आमाको दूध मात्र पर्याप्त हुन्छ। यस अवधिमा पानी, मह, घुट्टी वा अन्य खानेकुरा आवश्यक हुँदैन। छ महिनापछि उमेरअनुसार पूरक आहार सुरु गर्दै स्तनपानलाई दुई वर्ष वा सोभन्दा बढी समयसम्म निरन्तरता दिन सकिन्छ।
आमालाई दबाब होइन, सहयोग चाहिन्छ
स्तनपान सफल बनाउन आमाको इच्छा मात्र पर्याप्त हुँदैन। उनलाई परिवारको साथ, स्वास्थ्यकर्मीको परामर्श र सकारात्मक वातावरण आवश्यक हुन्छ।सुत्केरी आमाले शिशुको हेरचाहसँगै घरायसी जिम्मेवारी पनि सम्हाल्नुपर्छ। आरामको अभाव, तनाव र सहयोग नपाउँदा स्तनपान प्रभावित हुन सक्छ। त्यसैले आमालाई केवल ‘दूध खुवाउनुपर्छ’ भनेर सम्झाउनु पर्याप्त हुँदैन।
आवश्यक पर्दा ल्याक्टेसन काउन्सिलिङ (Lactation Counselling) अर्थात् स्तनपानसम्बन्धी सही परामर्श उपलब्ध गराउनुपर्छ।आमालाई दोष दिने होइन, सहयोग गर्ने संस्कार विकास गर्नुपर्छ।
दुधदानी प्रयोगमा सचेतना
दुधदानी प्रयोग गर्नुका कारण फरक-फरक हुन सक्छन्। काममा फर्किनुपर्ने अवस्था, दूध नपुगेको अनुभूति वा परिवारको धारणा यसका कारण हुन सक्छन्।तर दूध कम हुनुको वास्तविक कारण नबुझी तत्काल डब्बाको दूध सुरु गर्नु उचित नहुन सक्छ।
शिशुले सही तरिकाले स्तन समातेको छ कि छैन, पर्याप्त पटक स्तनपान गरिरहेको छ कि छैन र आमाको स्वास्थ्य अवस्था कस्तो छ भन्ने विषयमा स्वास्थ्यकर्मीको परामर्श आवश्यक हुन्छ। दुधदानी प्रयोग गर्दा सरसफाइमा विशेष ध्यान दिनुपर्छ। राम्रोसँग सफा नगरिएको बोतल र निप्पलबाट शिशुमा संक्रमणको जोखिम बढ्न सक्छ।
स्तनपानमैत्री वातावरण आवश्यक
महिलाको रोजगारी र सार्वजनिक सहभागिता बढ्दै गएको छ। यस्तो अवस्थामा कार्यस्थललाई स्तनपानमैत्री बनाउनु आवश्यक छ। कार्यालयमा स्तनपान कक्ष, आवश्यक समय र सहयोगी वातावरण भए कामकाजी महिलाले शिशुलाई स्तनपान गराउन सहज हुन्छ।
स्वास्थ्य संस्थाहरूलाई पनि बेबी फ्रेन्ड्ली अस्पताल (Baby Friendly Hospital) को अवधारणा अनुसार स्तनपान सहयोगी बनाउन आवश्यक छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले महिलालाई ९८ दिन तलबसहित प्रसूति बिदा र शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा दूध खुवाउने व्यवस्था गरेको छ। तर कानुनी व्यवस्था व्यवहारमा लागू हुन सके मात्र यसको वास्तविक प्रभाव देखिन्छ।
साझा प्रतिबद्धताको आवश्यकता
लुम्बिनीको ८१.५ प्रतिशत पूर्ण स्तनपान दर गर्व गर्ने उपलब्धि हो। तर यसलाई अझ बलियो बनाउन निरन्तर प्रयास आवश्यक छ।गर्भावस्था देखि नै स्तनपानसम्बन्धी जानकारी दिने, प्रसूतिपछि आमालाई सहयोग गर्ने र परिवारलाई समेत सचेत बनाउने प्रणाली प्रभावकारी बनाउनुपर्छ।स्तनपान सप्ताह केवल एक साताको अभियान होइन। यो स्वस्थ पुस्ता निर्माणको आधार हो।
आमाको दूध शिशुको अधिकार हो भने त्यसका लागि अनुकूल वातावरण बनाउनु परिवारदेखि राज्यसम्मको जिम्मेवारी हो। स्वस्थ जीवनको सुरुआत अस्पतालबाट होइन, आमाको काखबाट हुन्छ। त्यो काखलाई परिवारको साथ, स्वास्थ्य प्रणालीको सहयोग र राज्यको प्रतिबद्धताले बलियो बनाउन सके मात्र स्वस्थ बालबालिका र सक्षम समाज निर्माण सम्भव हुन्छ।
विश्व स्तनपान सप्ताह–२०२६ का अवसरमा लुम्बिनी प्रदेशमा स्तनपानको अवस्था, उपलब्धि र चुनौतीबारे विभिन्न कार्यक्रम भइरहेका छन्। यस वर्ष “दिगो जीवनको स्वस्थ सुरुवात : प्रभावकारी स्तनपानका लागि सबैको साथ” भन्ने नारासहित साउन १६ देखि २२ गतेसम्म स्तनपान सम्बन्धी सचेतना मूलक कार्यक्रम गरिएका छन ।
लेखक भुसाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत हुनुहुन्छ ।


प्रतिकया दिनुहोस्