स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले प्रदेशमा अझै उच्च रहेको मातृमृत्युदर घटाउन सुरक्षित मातृत्व अभियानलाई थप प्रभावकारी बनाउने भएको छ। विशेषगरी दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन समुदाय केन्द्रित सेवा, प्रभावकारी प्रेषण (रेफरल) प्रणाली तथा स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखिएको प्रदेश सरकारले जनाएको छ।
स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव दुर्गालक्ष्मी श्रेष्ठ र चिकित्सा महाशाखा प्रमुख ईश्वरी केसीले स्वास्थ्य कार्यालय प्युठानको अनुगमनका क्रममा अस्पतालमा जटिल प्रसूति सेवा तथा प्रेषण प्रणालीको अवस्थाबारे अवलोकन गर्दै आवश्यक निर्देशन दिए ।
अनुगमनका क्रममा सचिव श्रेष्ठले लुम्बिनी प्रदेशमा आमाको मृत्यु दर अन्य प्रदेशको तुलनामा अझै बढी रहेको भन्दै त्यसलाई न्यूनीकरण गर्न प्रदेश सरकारले सुरक्षित मातृत्व अभियान, एमपीडीएसआर (Maternal and Perinatal Death Surveillance and Response), स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धि तथा गर्भावस्थादेखि प्रसूति जाँचसम्म निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताइन्।
उनले विशेषगरी बाँके, कपिलवस्तुजस्ता तराईका जिल्लामा मातृ स्वास्थ्यमा सुधार ल्याउन समुदाय केन्द्रित सेवा विस्तार गरिएको जानकारी दिँदै गर्भवती महिलाका लागि निःशुल्क प्रयोगशाला सेवा, भिडियो एक्सरे, निःशुल्क एम्बुलेन्स सेवा तथा आवश्यक पर्दा हवाई एम्बुलेन्समार्फत समेत जटिल प्रसूतिको व्यवस्थापन भइरहेको बताइन् ।

मन्त्रालयका चिकित्सा तथा नर्सिङ महाशाखा प्रमुख ईश्वरी केसीले प्युठानमा स्वास्थ्यकर्मीहरूले समुदायमा पुगेर निरन्तर सेवा दिएकै कारण विगतको तुलनामा आमा तथा नवजात शिशुमा हुने जटिलता र मृत्यु दर क्रमशः घट्दै गएको बताइन् । उनले मातृ तथा शिशु स्वास्थ्यमा आएको सुधारलाई समुदायमा आधारित स्वास्थ्य सेवाको सकारात्मक प्रतिफलका रूपमा व्याख्या गरिन् ।
प्युठान अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवास पौडेलले स्थानीय तहका प्रसूति केन्द्रबाट जटिल अवस्थाको समयमै पहिचान गरी अस्पतालमा रेफर गर्ने समन्वयात्मक प्रणाली प्रभावकारी बन्दै गएको बताए । त्यसले सुरक्षित प्रसूति सेवा प्रवाहलाई सहज बनाउनुका साथै मातृ तथा नवजात शिशुको मृत्यु र जटिलता न्यूनीकरणमा उल्लेखनीय सहयोग पुगेको उनको भनाइ थियो ।
स्वास्थ्य कार्यालय प्युठानका प्रमुख नरेश बाबु श्रेष्ठले जिल्लाका नौवटै स्थानीय तहअन्तर्गत हालसम्म २६ वटा वडा पूर्ण संस्थागत प्रसूति युक्त वडा घोषणा भइसकेको जानकारी दिए । उनले थप ३८ वटा वडालाई पूर्ण संस्थागत प्रसूति युक्त घोषणा गर्ने तयारी भइरहेकाे र त्यसका लागि स्थानीय सरकार, प्रदेश सरकार तथा विकास साझेदार संस्थाबीच समन्वयात्मक रूपमा काम भइरहेको बताए ।
उनका अनुसार नौबहिनी गाउँपालिका-५ स्याउलिबाङ, प्युठान नगरपालिका अन्तर्गत जुम्रीकाँडा तथा गौमुखी गाउँपालिकाको अर्खाजस्ता दुर्गम बस्तीमा अझै पनि घरमै प्रसूति हुने प्रवृत्ति रहेको छ । त्यसलाई न्यूनीकरण गर्न स्थानीय तहमा स्वास्थ्यकर्मी परिचालन, आवश्यक जनशक्ति व्यवस्थापन, औजार–उपकरण उपलब्ध गराउने, क्षमता विकास तथा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका कार्यक्रमलाई तीव्रता दिइएको उनले बताए। यसका लागि स्वास्थ्य कार्यालय प्युठानले जिल्लाका सबै नौ स्थानीय तहसँग सहकार्य गरिरहेको पनि उनले जानकारी दिए ।
प्रदेश सरकारले मातृ तथा नवजात शिशुको मृत्यु दर घटाउने लक्ष्यसहित स्वास्थ्य संस्थाको क्षमता सुदृढ गर्नुका साथै दुर्गम बस्तीका गर्भवती महिलासम्म सुरक्षित प्रसूति सेवा पहुँच पुर्याउने रणनीतिलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा प्युठान जिल्लाका नौवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, प्रजनन तथा मातृ–नवजात शिशु स्वास्थ्य फोकल पर्सन, प्युठान अस्पतालका एमडीजीपी चिकित्सक, फिजिसियन, प्रसूति युनिट प्रमुख, नर्सिङ प्रमुख, अस्पतालमा कार्यरत नर्सिङ स्टाफ, किड्स नेपालका कार्यक्रम संयोजक अनुप अधिकारी, प्रसूतिकर्मी, नर्सिङ स्टाफ, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । स्वास्थ्य कार्यालय प्रमुख नरेश बाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मातृ तथा शिशु स्वास्थ्य फोकल पर्सन कौशलराज वैद्यले गरेका थिए।


प्रतिकया दिनुहोस्