स्वास्थ्यसमाचार/ रूपन्देही निर्वाचन क्षेत्र नं. ३ का सांसद डा. लेखजंग थापा ले रूपन्देहीस्थित भीम अस्पताल लाई तत्काल १०० शय्यामा स्तरोन्नति गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले भीम अस्पताल लुम्बिनी प्रदेशकै महत्वपूर्ण सरकारी स्वास्थ्य संस्था भएकाले यसको क्षमता र सेवा विस्तारमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए।
उनले रोग लागेका बेला बिरामीले अस्पतालभन्दा पनि आशा रोज्ने उल्लेख गर्दै आवश्यक जनशक्ति, पर्याप्त शय्या, जीवनरक्षक औषधि तथा खोपको अभाव हुँदा बिरामीको आशा निराशामा परिणत हुने अवस्था सिर्जना भएको बताए।
वि.सं. २०५० सालदेखि सेवा दिँदै आएको भीम अस्पताल अहिले रूपन्देही मात्र नभई कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी तथा सीमावर्ती भारतीय नागरिकको समेत भरोसाको केन्द्र बनेको सांसद थापाले बताए। उनका अनुसार ५० शय्याको स्वीकृत क्षमता रहेको अस्पतालले दैनिक ५०० देखि ६०० बिरामीलाई झण्डै १०० शय्याको अस्पतालसरह सेवा दिइरहेको छ।
प्रदेशकै उत्कृष्ट अस्पतालका रूपमा सम्मानित भइसके पनि अस्पतालमा अझै आवश्यक जनशक्ति अभाव रहेको, अस्पताल ५० शय्यामै सीमित रहेको, आईसीयू सेवा सञ्चालन हुन नसकेको तथा एन्टि–रेबिज खोपसमेत नियमित रूपमा उपलब्ध हुन नसकेको उनले संसदमा उल्लेख गरे।
“उत्कृष्ट सेवा दिने अस्पताललाई उपेक्षा गरेर स्वास्थ्य प्रणाली बलियो बन्न सक्दैन। उत्कृष्ट अस्पताललाई पुरस्कार मात्र होइन, आवश्यक स्रोत र साधन पनि उपलब्ध गराउनुपर्छ,” सांसद थापाले भने।
सांसद थापाले सरकारसमक्ष तीनवटा मुख्य मागसमेत राखेका छन्। उनले भीम अस्पताललाई तत्काल १०० शय्यामा स्तरोन्नति गर्न, स्वीकृत दरबन्दीअनुसार दक्ष स्वास्थ्यकर्मीको तत्काल पदपूर्ति गर्न तथा एन्टि–रेबिज खोपको नियमित र अविच्छिन्न आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरे।
उनले भीम अस्पताललाई सुदृढ बनाउनु भनेको एउटा अस्पतालको मात्र विकास नभई लुम्बिनी प्रदेशका लाखौं नागरिकको स्वास्थ्य अधिकारलाई थप सुरक्षित र प्रभावकारी बनाउनु भएको उल्लेख गर्दै सरकारलाई आवश्यक निर्णय लिन आग्रह गरे।


प्रतिकया दिनुहोस्