नक्कली औषधि कारोबारको आरोपमा फार्मेसीमा छापा

स्वास्थ्यसमाचार/ बुटवलको अस्पताल लाइन क्षेत्रमा नक्कली तथा प्रतिबन्धित औषधिको अवैध कारोबार भइरहेको आशंकामा प्रहरीले सैनामैना फार्मेसी र त्यसद्वारा सञ्चालित रैनामैना फार्मेसीमा छापा मारेको छ। कारबाहीका क्रममा रैनामैना फार्मेसीका सञ्चालक बिष्णु जिसी लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बुटवल को टोलीले फार्मेसी र त्यसको गोदाममा आकस्मिक छापा मारेको हो। कार्यालयका प्रमुख निशान्त श्रीवास्तव का अनुसार औषधिको शंकास्पद मूल्य र व्यापारिक गतिविधिबारे प्राप्त विभिन्न गुनासोका आधारमा उक्त फार्मेसीलाई केही समयदेखि विशेष निगरानीमा राखिएको थियो।

छापामार कारबाहीका क्रममा दम (Asthma) तथा Chronic Obstructive Pulmonary Disease (COPD) का बिरामीले प्रयोग गर्ने Seroflo 250 Rotacaps बरामद गरिएको प्रहरीले जनाएको छ।

भारतमा उत्पादित उक्त औषधि नक्कली भएको पुष्टि भएपछि औषधि व्यवस्था विभाग ले यसअघि नै यसको खरिद–बिक्रीमा रोक लगाएको थियो।

प्रहरीका अनुसार छापा मार्ने क्रममा फेला परेका केही औषधिको वैध आयात वा आधिकारिक खरिद बिल समेत भेटिएको छैन। ती औषधि कहाँबाट र कुन माध्यमबाट बुटवलसम्म ल्याइएका हुन् भन्ने विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ।

प्रहरीले पक्राउ परेका जिसीविरुद्ध औषधि ऐन तथा जनस्वास्थ्यसम्बन्धी कसुर अन्तर्गत कानुनी प्रक्रिया अगाडि बढाउने जनाएको छ। साथै, बरामद औषधिको वास्तविक गुणस्तर तथा रासायनिक अवस्था परीक्षण गर्न प्रयोगशालामा पठाउने तयारी भइरहेको वताईएको छ ।

सम्बन्धित शिर्षक :