स्वास्थ्यसमाचार/करहिया स्वास्थ्य चौकीमा स्वास्थ्य संस्थाले प्रदान गर्दै आएको सेवा–सुविधा, गुणस्तर तथा आर्थिक पारदर्शिताबारे जानकारी गराउने उद्देश्यले सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ।
करहिया स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष तथा तिलोत्तमा नगरपालिका वडा नं. ८ की महिला सदस्य कमला पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत रामप्रसाद ढकालको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा जनप्रतिनिधि, टोल विकास समितिका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख कृष्णाकुमारी भण्डारीले आर्थिक वर्ष २०८२-८३ को हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै स्वास्थ्य संस्थाले समुदायलाई उपलब्ध गराउँदै आएका सेवा, चुनौती तथा आगामी योजनाबारे जानकारी दिनुभयो। उहाँले स्वास्थ्य चौकीबाट ओपिडी, खोप, सुरक्षित मातृत्व, परिवार नियोजन, बाल स्वास्थ्य तथा पोषणसम्बन्धी सेवाहरू नियमित रूपमा सञ्चालन भइरहेको बताउनुभयो।

प्रस्तुत विवरणअनुसार गत आर्थिक वर्षमा ओपिडी सेवाबाट ४ हजार २५४ जना बिरामीले सेवा लिएका थिए भने चालु आर्थिक वर्षमा ३ हजार १७५ जनाले सेवा लिएका छन्। गत वर्ष २ हजार ६०९ महिला र १ हजार ६४५ पुरुष गरी ४ हजार २५४ जनाले सेवा लिएकोमा चालु वर्षमा २ हजार ६७ महिला र १ हजार १०८ पुरुष गरी ३ हजार १७५ जनाले सेवा लिएको जानकारी दिइयो।
यसरी दुई वर्षको तुलनामा १ हजार ७९ जना सेवाग्राही घटेका छन्। स्वास्थ्य चौकीले सार्वजनिक बिदा बढी हुनु तथा विभिन्न स्थानमा मासिक स्वास्थ्य शिविर सञ्चालन गरिनु बिरामी संख्या घट्नुका प्रमुख कारण रहेको जनाएको छ।
त्यसैगरी, पूर्ण खोप सेवामा गत वर्ष ११८ जनाले सेवा लिएकोमा चालु वर्ष ९७ जनाले सेवा लिएका छन्। सुरक्षित मातृत्व कार्यक्रममा गत वर्ष १११ जना लाभान्वित भएकोमा चालु वर्ष ९८ जना लाभान्वित भएका छन् भने वृद्धि अनुगमन कार्यक्रममा गत वर्ष १२२ जना सहभागी भएकोमा चालु वर्ष ११३ जना सहभागी भएका छन्। स्वास्थ्य चौकीले जनसंख्या तथा सेवाग्राहीको अवस्थाअनुसार आगामी दिनमा यी सेवाहरूको पहुँच थप विस्तार गरिने जनाएको छ।

आर्थिक विवरण प्रस्तुत गर्दै स्वास्थ्य चौकीले अघिल्लो वर्षको बैंक तथा नगद मौज्दात १ लाख १४ हजार ७० रुपैयाँ, नगरपालिका अनुदान २ लाख रुपैयाँ, कार्यालय व्यवस्थापन शीर्षकअन्तर्गत ५० हजार रुपैयाँ तथा ल्याब सेवाबाट १ लाख २३ हजार ६१० रुपैयाँ आम्दानी गरी कुल ४ लाख ८७ हजार ६८० रुपैयाँ आम्दानी भएको जनाएको छ।
यस अवधिमा स्थानीय स्वास्थ्य संस्थाबाट नियुक्त कर्मचारीहरूको तलब तथा भत्तामा २ लाख ३० हजार ७०० रुपैयाँ, औषधि तथा केमिकल खरिदमा १२ हजार ३५० रुपैयाँ, पूर्वाधार निर्माणमा ५५ हजार ४५३ रुपैयाँ तथा कार्यालय व्यवस्थापनमा ६१ हजार ५३० रुपैयाँ खर्च भएको जानकारी दिइयो। कुल खर्च ३ लाख ६० हजार ३३ रुपैयाँ रहेको तथा खर्चपश्चात् १ लाख २७ हजार ६४७ रुपैयाँ बैंक मौज्दात रहेको विवरण सार्वजनिक गरिएको थियो।
सामाजिक परीक्षण कार्यक्रममा औषधि व्यवस्थापनको अवस्थाबारे पनि जानकारी गराइएको थियो। आइरन चक्की, पारासिटामोल, परिवार नियोजनका साधनलगायत अधिकांश औषधि नियमित रूपमा उपलब्ध रहेको जनाइएको छ। केही औषधिहरूमा भने स्वास्थ्य शाखाबाट आपूर्ति कम हुँदा न्यून मौज्दात रहेको जानकारी दिइयो। कोट्रिम औषधि हाल प्रयोगमा नरहेको समेत उल्लेख गरिएको थियो।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले स्वास्थ्य चौकीको सेवा प्रवाह सुधारका लागि विभिन्न सुझाव दिएका थिए। स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य खुमबहादुर खासु, सवित्री नेपाली, टोल विकास समितिका प्रतिनिधि पारेश्वर उपाध्याय, गोपाल भण्डारी तथा ओमप्रकाश खनालले स्वास्थ्य चौकीमा फोहोर व्यवस्थापन र खानेपानीको समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँहरूले स्वास्थ्य संस्थाको वातावरणलाई थप व्यवस्थित र सेवामैत्री बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो।त्यसैगरी, बसन्ती भट्टराईले स्वास्थ्य चौकीमा भिडियो एक्स–रे सेवा आवश्यक रहेको बताउँदै सामान्य परीक्षणका लागि समेत स्थानीय नागरिकले टाढा जानुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो।
रोमकान्त भुसालले स्वास्थ्य चौकी भवन सबै नागरिकको सहज पहुँचमा नरहेको बताउँदै दीर्घकालीन रूपमा उपयुक्त स्थानमा स्वास्थ्य संस्था सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरूले विभिन्न स्वास्थ्य कार्यक्रम, तालिम तथा बैठकमा सहभागी हुन आउजाउ गर्दा यातायात व्यवस्थापनमा समस्या हुने गरेको उल्लेख गर्दै यातायात सुविधा उपलब्ध गराउन आग्रह गरेका थिए।

सहभागीहरूले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, पूर्वाधार विस्तार, औषधिको नियमित उपलब्धता, सरसफाइ व्यवस्थापन तथा स्वास्थ्यकर्मीहरूको क्षमता विकासमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए।
सामाजिक परीक्षण कार्यक्रमले स्वास्थ्य संस्थाको सेवा प्रवाह, आर्थिक पारदर्शिता तथा समुदायको सहभागितालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। कार्यक्रम रुपन्देही मिडिया नेटवर्क प्रालि को आयोजना तथा तिलोत्तमा नगरपालिका को सहयोगमा सम्पन्न भएको थियो।



प्रतिकया दिनुहोस्