स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरि को प्रमुख आतिथ्यतामा स्वर्गद्वारी नगरपालिकामा आधारभूत स्वास्थ्य सेवाको कानुनी व्यवस्था, प्रजनन स्वास्थ्य, स्वास्थ्य तथा पोषणसम्बन्धी सेवाको सुनिश्चितता तथा सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यले एकदिने कार्यशाला सम्पन्न भएको छ।
कार्यक्रममा स्वर्गद्वारी नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमासमूहका सदस्य, महिला तथा बालबालिकासँग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यशालामा आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएको विषय, स्वास्थ्य सेवासम्बन्धी कानुनी व्यवस्था, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, पोषणको महत्व तथा समुदायस्तरमा सकारात्मक सोचको विकासका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि निमा गिरिले स्वास्थ्य, शिक्षा र जनचेतनाको विकास बिना समृद्ध समाज निर्माण सम्भव नहुने बताउँदै स्थानीय तहमा यस्ता सचेतनामूलक कार्यक्रमले नागरिकलाई आफ्नो अधिकार र कर्तव्यबारे जानकारी गराउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो।
त्यसैगरी स्वर्गद्वारी नगरपालिकाका प्रमुख टेक बहादुर बिष्टले कार्यक्रमले समुदायस्तरमा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको बताउँदै कार्यक्रम आयोजना गरेकोमा प्रमुख अतिथि निमा गिरि तथा स्वास्थ्य कार्यलय प्युठान प्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा स्वास्थ्यका विविध विषयमा स्वास्थ्य कार्यलय प्युठानका प्रमुख नरेश श्रेष्ठ ले सहजीकरण गर्दै प्रजनन स्वास्थ्य, पोषण, मातृ तथा शिशु स्वास्थ्य, रोगको रोकथाम र स्वस्थ जीवनशैली अपनाउनुपर्ने आवश्यकताबारे जानकारी गराउनुभएको थियो। कानुनी सन्दर्भ तथा सकारात्मक सोचसम्बन्धी विषयमा माननीय निमा गिरिले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन फोकल पर्सन कोशल राज बैद्यले गर्नुभएको थियो। सहभागीहरूले कार्यशालाबाट स्वास्थ्य सेवा, पोषण तथा सकारात्मक सोचसम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त भएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए।


प्रतिकया दिनुहोस्